काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कोभिड नियन्त्रणमा खटिने सबै फ्रन्टलाइनरलाई एक साताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय गरेको छ।
कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन्। उनले सरकारको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन्।
यस्तै चैतभरमा सबै नागरिकलाई कोभिड खोप लगाइसक्ने पनि निर्णय गरेको उनले जानकारी दिए। यस्तै सार्वजनिक संस्थानमा योग्यतामा आधारित नियुक्ति र पदस्थापनाको कार्यविधि बनाउने निर्णयसमेत देउवासरकारको पहिले क्याबिनेट बैठकले गरेको छ। यस्तै विकास निर्माणमा तीव्रता दिनुका साथै छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध थप सुधार गर्ने निर्णय समेत गरिएको जानकारी प्रवक्ता कार्कीले दिए।
यसअघि नै क्याबिनेट समितिबाट प्रक्रियामा नआएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णयसमेत गरिएको उनले बताए।