जनकपुरधाम– मैथिली भाषाको सबैभन्दा ठूलो राशीको पुरस्कार नेपाल विद्यापति पुरस्कारबाट विभिन्न विधाका ६ जना श्रष्टाहरूलाई पुरस्कृत गरिएको छ । जनकपुरधाममा विद्यापति पुरस्कार कोषले आयोजना गरेको पुरस्कार वितरण समारोहमा श्रष्टाहरुलाई पुरस्कृत गरिएको हो ।
२ लाख राशीको नेपाल विद्यापति मैथिली साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिश दत्तलाई प्रदान गरिएको छ । त्यस्तै १ लाख राशीको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार साहित्यकार एवं राजनीतिज्ञ बृषेशचन्द्र लाल, १ लाख राशीको विद्यापति अनुसन्धान पुरस्कार पत्रकार एवं साहित्यकार सुजित कुमार झा, विद्यापति पाण्डुलिपि पुरस्कार पत्रकार एवं साहित्यकार अमरेन्द्र यादवलाई प्रदान गरिएको छ ।
त्यस्तै विद्यापति कला संस्कृति पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । सो पुरस्कारबाट पुरस्कृत हुनेहरुमा अजित कुमार साह र सुनिता कुमारी साह रहेका छन् । दुबै जनाको पुरस्कारको राशी ५०–५० हजार रहेको छ ।
पुरस्कार समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले श्रष्टाहरुलाई कदर पत्र तथा दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए ।