काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार आरोप लगाएको एक वर्षपछि अभिनेता भुवन केसी पुनः विवादमा तानिएका छन्। सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाद द फ्लप’मा कोरियोग्राफर शंकर विसीले भुवनबारे सुनाएको एक प्रसंगले उनी विवादमा तानिएका हुन्।
शंकरका अनुसार भुवनले १४ वर्षअघि एक म्युजिक भिडियो सुटिङका क्रममा हिरोइनलाई अंगालो मार्न चान्स दिएको भन्दै एउटै टेक चार पटकसम्म गरेका थिए। त्यतिबेला कृष्ण फिल्मसका म्यानेजरले आफूलाई पहिलोपल्ट भुवनलाई नचाउने जिम्मेवारी दिएको स्मरण गर्दै शंकरले सन्दीपसँग भनेका छन्, ‘हिरोइनलाई अंगालो मारेर, हात सोहोरेर (शरीरको माथिदेखि तलसम्म संकेत गर्दै), टक्क कुमले हान्ने सिन थियो। जबर्जस्ती टाइपको माया प्रेम थियो। मैले तीन पटकसम्म गराउँदा पनि भुवन दाइलाई चित्त बुझेन, फेरि फेरि भनिरहनुभयो। मैले सिन मन परेन, अब सेट छोडेर जाने होलान् भन्ने ठानेको थिएँ।’
चौथो पटकमा मात्रै त्यो सिन फाइनल भएको भन्दै उनले थप भनेका छन्, ‘चौथो पटक गरेपछि भुवन दाइले बोलाउनुभयो। ‘तँलाई मैले चार चोटी किन प्राक्टिस गराएको थाहा छ?’ भनेर सोध्नुभयो। मैले ‘किन दाइ ?’ भनेर सोधें। ‘त्यो हिरोइनलाई अंगालो मार्ने चान्स दिएको क्या’ भनेर भन्नुभयो। त्यसपछि वातावरण सहज भयो।’
शंकरको यो स्मरण सुनेर उनीसहित सन्दीप पनि जोडले हाँसेका छन्। भुवनको यो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। ट्विटरमा यो प्रसंगको भिडियो क्लिप सेयर गर्दै छिरिङ तामाङले लेखेका छन्, ‘भुवन केसीको बारेमा नायिका साम्राज्ञीले एक वर्ष जति अगाडि नै भनिसकेका छन्। यता शंकर बिसीले पनि मुख खोलिदिए। अंगालो मार्न चान्स दे’को रे भुवन सरले। महिलाको शरीर यी तोरी सुपरस्टारहरुको लागि चान्स मार्ने वस्तु मात्रै त हुन्। अझ दुवैको हाँसो। अहो।’
भुवन केसीको बारेमा नायिका साम्राज्ञीले एक वर्ष जति अगाडी नै भनिसकेका छन। यता शंकर बिसीले पनि मुख खोलिदिए।
— छिरिङ (@chhiringtamangg) July 12, 2021
अंगालो मार्न चान्स देको रे भुवन सरले।महिलाको शरीर यी तोरी सुपरस्टारहरुको लागी चान्स मार्ने वस्तु मात्रै त हुन।अझ दुवैको हाँसो। अहो। pic.twitter.com/78Bz8XrO8A
लेखक आन्विका गिरीले पनि ट्विट गरेकी छिन्, ‘त्यसपछि वातावरण सहज भयो रे...। अनि, यी दुईको घिनलाग्दो हाँसो। महिला कलाकारका लागि सहज भएर काम गर्ने वातावरण कैले हुन्छ? जबसम्म मान्छे यस्ता कुरामा अट्टहास गर्छन्, तबसम्म खै के वातावरण सहज होला र!’
अहिले भुवनबारे शंकरले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले यो अभिव्यक्तिसँगै एक वर्षअघि साम्राज्ञीले लगाएको आरोप सम्झिएका छन्।
के थियो त्यो आरोप?
साम्राज्ञीले त्यतिबेला इन्स्टाग्राम लाइभमार्फत आफूले फिल्म गर्दा भोग्नुपरेको दुर्व्यवहारबारे बोलेकी थिइन्। पहिलोपटक बोल्दा उनले कसैको नाम नलिईकन आफ्नो भोगाइ सार्वजनिक गरेकी थिइन्।
तर, उनको पहिलो फिल्म ‘ड्रिम्स’का निर्माता भुवन केसीलाई ‘अगुल्टोले हानेको कुकुर, बिजुली चम्किदा तर्सिन्छ’ भनेझैं त्यो आफैंलाई भनेजस्तै लाग्यो। साम्राज्ञीलाई जवाफ फर्काउँदै उनले अहिले एउटी हिरोइन रोइकराइ गरिरहेको भन्दै लेखे, ‘कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’
लगत्तै साम्राज्ञीले दोस्रो भिडियो सार्वजनिक गरिन्। त्यसमा उनले भुवनको स्टाटसको प्रसंग जोड्दै, ‘फिल्म क्षेत्रका अग्रजहरुले ‘तिमी केटी मान्छे हौ। यस्तो विषयमा बोल्नु हुँदैन’ भनेकै कारण आफू सहेर बसेको बताइन्। उनले भुवन केसीले आफूलाई जापानमा भएको एक अवार्ड समारोहमा आफूलाई ‘तँ त मेरो प्रोडक्ट होस्। यस्तो कुरा छाड्दे। पुरानो कुरा कोट्याएर के काम?’ भन्ने प्रश्न गरेको कुरा समेत खुलाइन्।
त्यसपछि उनले श्रृंखलाबद्ध रुपमा सुटिङका क्रममा भोगेको दुर्व्यवहार हिम्मतसाथ बोलिन्। त्यसपछि भुवनले साम्राज्ञीको बोलीमा ताल्चा लगाउन कहिले कलाकार संघमा उजुरी दिए, कहिले साइबर क्राइममा थुनाइदिने धम्की दिए त कहिले आफू निकटका पत्रकार, निर्देशक, प्राविधिकमार्फत उल्टै चरित्रहत्याको प्रयास गरे।
यतिले पनि नपुगेपछि अहिले उनी अदालत साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्तिको माग दाबीसहित अदालत पुगे। र, यो मुद्दा अदालतबाट टुंगो नलाग्दै अहिले फेरि हिरोइनबारे भुवनले दिएको यो अभिव्यक्ति विवादमा आएको हो। यसबारे भुवनले केही प्रतिक्रिया जनाइसकेका छैनन्।