आइतबार, वैशाख २३, २०८१

यस्ता 'ड्राइभर' गायकको कथा जसले गाउँदागाउँदै आमा गुमाए

तीन महिना अघिसम्म सर्लाही हजरियाका कर्णराज गिरीको परिचय थियो, ट्याक्सी चालक। फाट्टफुट्ट गीत त गाउँथे, तर कसैको नजरमा पर्न सकेका थिएनन्। दिउँसो संगीत सिक्नु, रात परेपछि ट्याक्सी चलाउनु, यही नै उनको दैनिकी बनेको थियो। 
 |  मंगलबार, असार २९, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, असार २९, २०७८

काठमाडौं– तीन महिना अघिसम्म सर्लाही हजरियाका कर्णराज गिरीको परिचय थियो, ट्याक्सी चालक। फाट्टफुट्ट गीत त गाउँथे, तर कसैको नजरमा पर्न सकेका थिएनन्। दिउँसो संगीत सिक्नु, रात परेपछि ट्याक्सी चलाउनु, यही नै उनको दैनिकी बनेको थियो। 

triton college

तर, पछाडि ‘ट्याक्सी सर्भिस’ लेखिएको पहेंलो ज्याकेट लगाएर जब उनी ‘भ्वाइस अफ नेपाल सिजन ३’ को ‘ब्लाइन्ड अडिसन’ मा पुगे, त्यसपछि एक्कासि उनको परिचय फराकिलो बनेको छ। हिजो ‘ओइ ड्राइभर’ भनेर बोलाउनेहरुले आज ‘गायकज्यू’ भन्न थालेका छन्। 

जतिबेला उनी ‘ब्लाइन्ड अडिसन’ दिन भ्वाइसको स्टेजमा चढेका थिए, त्यतिबेला दमकी बिरामी उनकी आमा अस्पतालको आईसीयूमा मृत्युसँग लडिरहेकी थिइन्। 

‘छोरा, म पनि तँसँग जान्छु है भन्नुहुन्थ्यो, तर जुरेन,’ भ्वाइसका चारैजना कोचअघि कर्ण भक्कानिएका थिए। उनले त्यहाँ कोच प्रमोद खरेलकै गीत ‘म बाँचेकै तिमीसँग माया लाउन...’ गाएका थिए। 

corrent noodles
Metro Mart

उनको स्वर सुनेर कोच प्रमोदसहित दीप श्रेष्ठ र तृष्णा गुरुङले कुर्सी घुमाएका थिए। आमा अस्पतालमा भएको कठिन परिस्थितिमा पनि गीतलाई न्याय गरेर गाएको भन्दै चारैजना कोचले उनको प्रशंसा गरेका थिए। 

प्रमोदले उनको तारिफमा भनेका थिए, ‘यो गीत गाउँदा रेन्जको समस्या हुने गर्छ। रेन्ज कन्ट्रोल गर्न सकेन भने मान्छे चिप्लिन सक्छ तर कन्ट्रोल गर्नुभयो। फिल गर्नुभयो। कतिपय त मैले गर्दै नगरेको काम पनि तपाईंले गर्नुभयो।’

अझ दीप श्रेष्ठले त प्रमोदलाई ‘माइन्ड नगर्नु’ भन्दै कर्णको तारिफमा थपेका थिए, ‘प्रमोदले भन्दा धेरै मिठो गाउनुभयो। अपेक्षाभन्दा बढी तपाईंको गायकी। हरेक नोट, हरेक शब्दलाई आफ्नै गीतजसरी बडो न्याय गरेर गाउनुभयो।’ 

कर्णको ‘भ्वाइस यात्रा’ सुरु हुँदा उनकी आमा अस्पतालको भेन्टिलेटरमा थिइन्, उत्कृष्ट १२ मा पुग्दा देह त्यागिन्। शनिबार लाइभ शोमा कर्णको प्रस्तु्ति प्रशारण हुँदै थियो। उनले ‘यो कुरा गोप्य नै राखौँला’ गीत गाएका थिए। उनको प्रस्तुतिप्रति चारैजना कोचले उठेर सम्मान जनाएका थिए। अनि, त्यही प्रस्तुतिका कारण उनी ‘पर्फमर अफ दि डे’ बनेका थिए।

अस्पतालले हार खाएपछि कर्णले आमालाई काठमाडौंबाट गाउँ लगेका थिए। यता भ्वाइसको ‘लाइभ शो’ रेकर्ड गर्न उनीचाहिँ काठमाडौं आएका थिए।  शुक्रबार दाइलाई फोन गरेर आमासँग बोल्न खोजेका थिए। दाइले ‘आमा, म घर आइसकें भन्नु’ भन्दै आमालाई फोन दिएका थिए। त्यसपछि कर्णले फोनबाटै भनेका थिए, ‘आमा, म कान्छो छोरा, घर आइसकें।’

तर, आमा केही बोल्न सकिनन्। त्यसको केही समयमै देह त्यागिन्। ‘तेरो प्रोग्राम हेर्छु भन्नुहुन्थ्यो, मैले पुरस्कार पाएको हेर्नै नपाई बित्नुभयो,’ शोकमा रहेका कर्ण भावुक सुनिए। ‘केही समय, केही दिन अझै हुनुभएको भए हुन्थ्यो। छोराले यति माया पाइरहेका बेला छाडेर जानुभयो। खुसी थियो तर खुसी बाँड्नै पाइनँ। अभागी रैछु, अन्तिम समयमा आमालाई भेट्न पाइनँ,’ समयसँग गुनासो छ कर्णको। 

कर्ण डेढ वर्षको छँदै उनका बुबा बितेका थिए। त्यसपछि आमाकै छहारीमा हुर्किएका थिए उनी। सानैदेखि संगीतका पारखी कर्ण सर्लाहीबाट काठमाडौं गायक बन्ने सपना बोकेर आएका थिए। आमाको सपना पनि त्यही थियो। तर, काठमाडौंको भीडमा जम्न कहाँ सजिलो थियो र। ‘सजिलो रैनछ गायक बन्न,’ शोकमा पर्नु केही दिनअघि उनले हामीसँग भनेका थिए, ‘गीत त म पहिल्यैदेखि गाइरहेको थिएँ। केही रेकर्ड पनि गराएँ। तर, सबैको माया पाउन यो प्रतिस्पर्धामै आउनुपरो।’

त्यसपछि परिवारको गुजारा टार्न उनी रातिराति ट्याक्सी चलाउन थालेका थिए। दिउँसो पनि कमै आराम गर्थे। कारण, गायनमा जम्ने हुटहुटी। त्यसैले किरण कार्कीसँग संगीत सिकिरहेका थिए। हाल आमाको किरियामा बसिरहेका कर्णका लागि यतिखेर उनका प्रशंसकहरुले देशविदेशबाट भोट मागिरहेका छन्। कर्ण भन्छन्, ‘हिजो मसँगै बाटोमा ट्याक्सी गुडाउने साथीहरु आज मलाई भ्वाइसमा गीत गाएको देख्दा खुशी रैछन्, हाम्रो केटो पनि छ है त्यहाँ भनेको सुन्दा खुशी लाग्छ।’

कर्णले भ्वाइसको ‘ब्लाइन्ड अडिसन’ मा जब वाहवाही कमाए, त्यतिबेला अस्पतालमा रहेकी उनकी आमाले बेडबाटै भनेकी थिइन्, ‘सबैले माया गरिदिउन् मेरो छोरालाई। त्यो भन्दा पनि उँभो बढाइदिउन्।’

कर्ण अब आमाको त्यही सपना पूरा गर्न चाहन्छन्– भ्वाइसको विजेता बनेर। ‘यो देखेर पक्कै माथिबाट हेरिरहेकी मेरी आमा खुशी हुनेछिन्,’ कर्णले भावुक हुँदै भने।
 

प्रकाशित: Jul 13, 2021| 11:26 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्