जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी आर्थिक वर्षको बजेटमा रहेका कमजोरीलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा कमजोरी रहेको स्वीकार गर्दै सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि प्रदेशसभा बैठक पनि सुरु भएको छ।
प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगातर प्रदेशसभाको बैठक अवरुद्ध गर्न थालेपछि मुख्यमन्त्रीले जवाफ दिँदै बजेट सच्याउने प्रतिबद्धता जनाएका हुन्। ‘आवश्यक समन्वय अभावमा बजेटमा सबैको आकांक्षा बमोजिम योजना समावेश भएको छैन। म विश्वास दिलाउन चाहन्छु यसलाई मन्त्रिपरिषदबाट सुधार गरिनेछ,’ उनले भने।
बजेटमा राखिएको ५ अर्बभन्दा बढी रकमको विषयमा बोल्दै मुख्यमन्त्री राउतले सबै पक्षलाई समेटेर पारदर्शी रुपमा त्यो रकम 'बन्डा' बनाइने बताए। ‘अबण्डा रकम गलत ढंगले वितरण गरिने छैन,’ उनले प्रतिपक्षी दललाई विश्वास दिलाए। उनले बजेट सर्वसम्मत रुपमा पास गर्न अनुरोध गरेका थिए।