काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रका आधार स्तम्भ भत्काएको बताएका छन्।
आफ्नो निवास बालुवाटारमा प्रधानमन्त्रीका रुपमा बिदाइ सम्बोधन गर्दै उनले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसलाले उत्पन्न गरेको विशेष परिस्थितिका कारण सम्बोधनका लागि उपस्थित भएको छु। सर्वोच्चको फैसला मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा लामो समयसम्म रही रहनेछ। फैसला लोकतन्त्रको विकासमा सहयोगी रह्यो कि राजनीतिक स्थायित्वलाई बल पुग्यो कि के भयो भविष्यले गर्ने नै छ।’
फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको उनले बताए। ओलीले भने, ‘आवधिक निर्वाचनमार्फत जनताका प्रतिनिधि चयन हुनु र शासन चल्नु जनतामा निहित अधिकार हो। २०५२ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारलाई जब अपदस्थ गरियो, त्यसबेला पनि मैले यसले गम्भीर परिणाम ल्याउँछ भनेर टिप्पणी गरेको थिएँ।’