काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले ‘राजनीतिक र वैचारिक प्रतिवाद’ गर्न भन्दै युथफोर्स ब्युँताएको छ। मंगलबार बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकले 'युथफोर्स ब्युँताउने निर्णय गरेकाले निवर्तमान युवा संघका अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिए।
युवा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्सका लागि ५०१ जनाको केन्द्रीय कमान्ड घोषणा गरेका छन्। सात वटै प्रदेश ७७ वटै जिल्ला र पालिका तहसम्ममा युथ फोर्सको संरचना तयार गरिने भएको छ।
‘युथफोर्स एमाले र युवा संघको स्वयंसेवी संगठन हो,’ सिंहले भने, ‘राष्ट्र, राष्ट्रिय अखण्डता र पार्टीको पक्षमा यसले काम गर्छ।’
बैठकलाई सम्बोधन गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले पार्टीमाथि हुने वैचारिक र राजनीतिक आक्रमणलाई प्रतिवाद गर्न युथ फोर्स ब्युँताउनुपरेको बताए। ब्युँतिएको युथफोर्स प्रमुखमा उपाध्यक्ष क्षितिज थेबे र उपप्रमुखमा पुष्प श्रेष्ठलाई चयन गरिएको छ।
२०६५ सालमा तत्कालीन नेकपा माओवादीको वाईसीएलसँग प्रतिवाद गर्न तत्कालीन युवा संघका कोषाध्यक्ष बस्नेतको नेतृत्वमा युथ फोर्स गठन गरिएको थियो।