काठमाडौं– नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब विवाद र तिक्तत्ता बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिएको छ।
कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव बुझाउन बिहान कोटेश्वर पुगेका कार्यदलका सदस्यहरुले यस्तो सुझाव दिएका हुन्।
‘दश बुँदे सहमति बुझायौं। कार्यान्वयनमा लगेर जाउँ भन्ने हाम्रो आग्रह गरेका हौं,’ नेता सुवास नेम्वाङले भने,‘पार्टीमा आउनुस् र पार्टीलाई एकताबद्ध बनाएर लैजान भूमिका खेल्नुस् भनेका छौं।’
उनले आफूहरुले नेता नेपाललाई सबै चुनौतीलाई सामना गर्दै अगाडि बढ्न आग्रह गरेको बताए। जवाफमा नेता नेपालले आफू सकारात्मक रहेको बताएका छन्। ‘म आफू विपक्षी गठबन्धनमा अब नरहेको भनेर हिजो नै प्रष्ट पारिसकेको छु। त्यसैले म पार्टीमा फर्कने नै हो,’ नेपालको भनाइ उधृत गर्दै नेता नेम्वाङले भने ।
उनले अब सरसल्लाह गरेर नै पार्टी कमिटीका बैठकहरु चाँडै बस्ने जानकारी समेत दिए। नेता नेपाललाई भेटन् कार्यदलका संयोजक सुवास नेम्वाङ, भीम रावल र सदस्य विष्णु पौडेलले कोटेश्वर गएका थिए।
कार्यदलले आइतबार तयार पारेको सहमतिको प्रस्ताव सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत बुझाइसकेको छ।