काठमाडौं– सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समिकरणसहित आसन्न मन्त्रिमण्डलको तयारी सुरु गरेका छन्।
परमादेश भएपछि सोमबार बसेको गठबन्धनका दलको बैठमै पनि मन्त्रिमण्डलबारे सामान्य छलफल भएको थियो। त्यसपछि कांग्रेस सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा आफू सन्निकटहरुसँग आफ्नो नेतृत्वको सरकारको संरचना र दलका तर्फबाट कस–कसलाई मन्त्रिमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल गरेका छन्।
‘कांग्रेसबाट को–को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन यद्यपी सभापतिले यसबारे छलफल आरम्भ गर्नुभएको छ’, देउवा निकट एक नेताले नेपाल समयलाई बताए, ‘आज मंगलबार बिहान पनि कांग्रेसका उच्च तहका नेताबीच छलफल हुनेछ।’
सभापति देउवाले मन्त्रिमण्डलको आकार तय हुनेवित्तिकै सो अनुपातमा कांग्रेसले पाउने हिस्सामा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासँग पनि मन्त्रिमण्डलमा सहभागी गरिने नामहरुका विषयमा छलफल गर्नेछन्। ‘रामचन्द्र दाइ र सिटौलाजीसँग अहिले एक–एक जनाको नाम माग्ने तयारी सभापति देउवाको छ’ ती नेताले सोमबार मध्यराति भने, ‘अहिले सानो आकारको, म्याक्सिमम ५ देखि ७ जनासम्मको मन्त्रिमण्डल बन्नेछ, जहाँ तीन जनासम्म कांग्रेसका मन्त्रिहरु हुनसक्छन्।’
देउवा प्रधानमन्त्री चयन हुने भएपछि उता, पौडेल र सिटौला समूहमा पनि मन्त्रिमण्डलमा सहभागी हुने कांग्रेस सांसदहरुको नामबारे सामान्य चर्चा सुरु भएको छ। सभापति देउवाले नाम माग्ने अपेक्षासहित वरिष्ठ नेता पौडेलले पनि यसबारे गृहकार्य गरिरहेका छन्। ‘नामको कुरा फाइनल भएको छैन, छलफल त स्वभाविक रुपमा भइरहेको छ’, सोमबार साँझ नेता पौडेललाई भेटेका एकजना कांग्रेस सांसदले भने, ‘मन्त्रिमण्डलको पहिला सानो आकारको बनाउने र पछि विस्तार गर्नेबेला अलिक बढि छलफल होला।’
पहिलो चरणको मन्त्रिमण्डलमा कांग्रेसबाट बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, गगन थापा जस्ता अनुहारहरु समाविष्ट हुनसक्ने सम्भावना रहेको ती सांसदले बताए। यद्यपी कांग्रेसमा सभापति अलिक बढि क्रियाशिल र सर्वेसवा हुनेहुनाले यसबारे यस्तै निर्णय हुन्छ भन्ने अवस्था छैन।
निकटहरुसँगको अनौपचारिक छलफलअघि देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका थिए।
सोमबार दिउँसो बसेको गठबन्धन बैठकमा देउवाको आग्रह पछि एमाले नेता माधव नेपालले, ‘आफूहरु अहिल्यै सरकारका सहभागी हुने अवस्था नभएको’ बताएका थिए। त्यसैगरी आन्तिक द्वन्द्वमा परेको जनता समाजवादी पार्टीका उपेन्द्र यादवले सरकारका सहभागी हुने कुरामा आफूहरु सकारात्मक रहे पनि केही समय यसका लागि उपलव्ध गराउन देउवालाई आग्रह गरेका थिए। माओवादी केन्द्रले भने कम्तिमा दुई जनालाई पहिलो मन्त्रिपरिषदमा पठाउने तयारी गरिरहेको बुझिएको छ।
‘मंगलबार हुने सपथ कार्यक्रममा प्रधानमन्त्रीका रुपमा देउवासहित माओवादी केन्द्रका साथीहरु मात्र मन्त्रिका रुपमा समाविष्ट हुने अवस्था मात्र पनि हुनसक्छ’, देउवा निकट ती नेताले जानकारी दिए, ‘त्यसमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलजी पनि सहभागी हुनसक्नुहुन्छ। सभापतिज्यूले उहाँलाई आग्रह गरिसक्नुभएको छ।’