काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजीनामा नदिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा आफूपक्षीय एमाले स्थायी कमिटीको बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि प्रधानमन्त्री ओली शीतल निवास गए पनि राजीनामा बुझाउनका लागि नभएको उनको सचिवालयले जानकारी दिएको हो।
शीतल निवास स्रोतले पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई राजीनामा नबुझाएको बताएको छ।
सोमबारको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिने संकेत गरेका थिए। उनले अदालतको फैसला जतिसुकै अप्रिय भएपनि आफूहरूले कार्यान्वयन गर्ने बताएका थिए। 'त्यसको कार्यान्यवयन सोमबारै सुरु हुन्छ' त भन्ने पत्रकारहरूको प्रश्नमा उनले त्यसका लागि पर्खन भनेका थिए।
बैठकलगत्तै प्रधानमन्त्री शीतल निवास पुग्नु र ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले पनि राजनीमा दिने संकेत गरेकाले सोमबारै ओलीले राजीनामा दिने सक्ने आकलन गरिएका थिए।
सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा गरेको विघटनको निर्णयलाई बदर गरिदिएको थियो।