काठमाडौं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूहको बैठकले नयाँ बन्ने गठबन्धन सरकार प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्।
बैठकमा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले गठबन्धन सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जानकारी दिएका हुन्।
यस्तै कोभिडका कारण अर्थतन्त्रमा देखिएको संकट निराकरण र भ्याक्सिनको आपूर्ति तथा व्यवसस्थापनबारे पनि छलफल भएको उनले जानकारी दिए। 'मूलतः गठबन्धनको सरकार प्रभावकारी बनाउने, कोभिडका कारण अर्थतन्त्रमा देखिएका संकट, भ्रष्टाचार न्यूनीकरण र भ्याक्सिनको व्यवस्थापनबारे छलफल भयो,' डा भट्टराईले भने।
ओलीले राज्यका सबै संरचना ध्वस्त पारेको आरोप लगाउँदै उनले भत्काएका अन्तर्राष्ट्रिय सम्बन्धका संरचनालाई पनि विकास गर्ने उनको भनाइ थियो। बैठकले सर्वोच्च अदालको फैसलालाई स्वागत गर्दै नयाँ सरकार बनाउन लागिपर्ने निर्णय गरेको छ।
प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।
बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी थिए।
यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि बैठकमा सहभागी थिए।
यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, रघुजी पन्त सहभागी छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल थिए।