काठमाडौं- ख्याति श्रेष्ठको हत्यामा मतियारको भूमिका खेलेको भन्दै १७ वर्षको कलिलो उमेरमै जेल परेकी मेरिना शाक्य सोमबार रिहा भएकी छिन्। जिल्ला अदालत काठमाडौंले उनलाई १३ वर्ष चार महिनाको कैद सजाय तोकेको थियो, छुटसहित १२ वर्षपछि उनी रिहा भएकी हुन्।
जेल पर्दा उनीले भर्खर एसएलसी दिएकी थिइन्, रिहा हुँदा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधिसहित निस्किएकी छन्। जेल परेका बखत ठानेकी थिइन्, जीवन अब अँध्यारो भयो। तर, जेलभित्रै शिक्षाको ज्योती छरिन्। जेलभित्र रहेको स्कुलको प्राधानाध्यापकसम्म भइन्। अनि, निस्कँदा धेरैको ‘मिस’ र ‘हेडमास्टर’ बनेर निस्किइन्।
नेपालको कानुनले नाबालिका–नाबालकको हकमा जस्तोसुकै अपराध गरेको भए पनि सुधारगृह पठाउने व्यवस्था गरेको छ। तर, मेरिनाका हकमा गम्भीर प्रकृतिको विभत्स हत्यामा संलग्न भएको भन्दै अदालतले सुधारगृह नपठाई कैद सजाय नै तोक्यो।
कसरी १७ वर्षमै उनी यो हदसम्मको सजाय भोग्न पुगेकी थिइन्? यसको जवाफ पाउन २०६६ जेठ २२ मा फर्कनु पर्छ। सोही दिन ख्याति श्रेष्ठको हत्या भएको थियो। अनामनगर बस्ने ख्याति श्रेष्ठ मोडलिङमा रुची राख्थिन्। २०६६ जेठ २२ गते पनि उनी घरबाट ‘भोउ’ म्यागजिनमा अन्तर्वार्ता दिने भन्दै निस्किएकी थिइन्।
तर, परिन् अपहरणको फन्दामा। भोलिपल्ट १० लाख फिरौती रकमको मागसहित घरमा उनको अपहरणको खबर पुग्यो। त्यतिबेला अपहरणकारीले तराईको भूमिगत समूहको नाममा फिरौती मागेको थियो। त्यसैले महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसरसहित तत्कालीन प्रतिआतंकवाद निर्देशनालयसमेत उनको खोजीमा जुटेको थियो।
बेपत्ता भएको दुई सातापछि ललितपुरको कार्यविनायक नजिकै टाउको, हातखुट्टा नभएको एउटा शरीर फेला पर्यो। तर, त्यो ख्यातिकै हो भन्ने पुष्टि त्यसको केही दिनपछि मात्रै भयो जब सोह्रखुट्टेबाट वीरेन श्रेष्ठ पक्राउ परे।
प्रहरी अनुसन्धानको क्रममा खुल्यो– क्यासिनोमा जुवा खेल्दा लागेको ऋण तिर्न उनले ख्यातिको अपहरण गरेर विभत्स हत्या गरेका रहेछन्। त्यसैका लागि भोउ म्यागजिनको फोटोसुट भन्दै अपहरण गर्ने योजना बनाएका रहेछन्।
अनि, त्यही योजना सफल पार्न उनले मेरिनाको सहयोग लिएका थिए। त्यतिबेला प्रहरीको अनुसन्धानमा मेरिनाले म्यागजिनको प्रतिनिधि बनेर ख्यातिलाई पुतलीसडकबाट नयाँबजारमा रहेको वीरेनको कोठासम्म लगेको खुलेको थियो। त्यति मात्रै नभएर उनको हत्यापछि सामान व्यवस्थापन गर्नेदेखि वीरेनले ख्यातिको परिवारबाट लिएको फिरौती रकम राख्नसम्म उनले सहयोग पुर्याएको देखियो। र, त्यसकै आधारमा काठमाडौँ जिल्ला अदालतले वीरेनलाई मुख्य दोषी र मेरिनालाई सहयोगी ठहर गर्दै त्यतिबेला जन्मकैदको सजाय सुनाएको थियो।
जेल परेको समय मेरिना भर्खर एसएलसी परीक्षा दिएर ब्रिजकोर्स तयारी गर्दै थिइन्। पढाइमा अब्बल थिइन्। हिरासतमै रहँदा उनको एसएलसी नतिजा आएको थियो, जहाँ उनले ८६.८७ प्रतिशत ल्याएर पास गरेकी थिइन्।
त्यतिबेला धेरैले ठानेका थिए, ‘यी नाबालिगको जीवन सक्कियो।’ तर, मेरिनाले हरेस खाइनन्। जेलभित्रैबाट जीवनको नयाँ अध्याय सुरु गरिन्। र, फर्कदा धेरैको ‘गुरुआमा’ भनेर फर्किइन्।