काठमाडौं- नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनमा पावर सेयरिङका विषयमा छलफल हुने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस नेताहरूको आकस्मिक बैठकमा सहभागी डा रामशरण मतले यस्तो जानकारी दिएका हुन्।
'कांग्रेससहितका ५ दलको बैठक आजै बस्दै छ। अब कांग्रेसलाई समर्थन गर्नेहरूको सरकार बन्छ। आज पावर सेयरिङको विषयमा सरसल्लाह हुन्छ,' डा महतले भने, 'एमालेको एक समूहले हामीलाई समर्थन गरेको छ। सर्वोच्चको फैसलाले दलीय ह्विप पनि नलाग्ने भएको छ। कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास छ,' उनले भने।
अदालतक फैसला सही र न्यायिक भएको कांग्रेसको ठहर छ। संविधानको व्यवस्थासम्मत फैसला आएको उनको भनाइ थियो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सोमबार हुन लागेको गठबन्धन बैठकमा पावर सेयरिङका विषयमा छलफल हुने संकेत गरे। 'कांग्रेससहितको ५ दलको बैठक बस्दैछ। त्यसले साझा रूपमा निर्णय गर्नेछ,' उनले भने।
गठबन्धनमा सहभागी दलहरूको बैठक एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा ५ बजे बस्ने बताइएको थियो। तर बैठक केही ढिला सुरु हुने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षको एमालेले पराजयको आवेगका रूपमा सहज ढंगले मार्ग प्रशस्त गर्ने विश्वास उनले व्यक्त गरे।
फैसलाले राजनीतिलाई ट्र्याकमा फर्काएको उनको प्रतिक्रिया थियो। 'आजको फैसला स्वागतयोग्य छ। लिकभन्दा बाहिर गएको संविधानलाई ट्र्याकमा फर्काएकोछ,' उनले भने।
आफूहरूलाई प्रतिपक्षमा बस्ने गरी जनमत दिएको तर संविधान निरन्तर मिचिन थालेपछि परिस्थितिले सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको उनले बताए। 'राजनीतिक दलहरूले जनताको जीवन जोगाउनका लागि लागिपर्नुपर्ने भएको छ। दलहरूबीच एकता कायम रहने विश्वास छ। जनताको हितका विषयमा काम गर्ने बेला आएको छ,' उनले भने।
प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाई गरी सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्न र २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।