काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरुले न्याय पाएको बताएका छन्।
सर्वोच्चको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गरेर आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आफ्नै निवास बूढानीलकण्ठमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब विपक्षी गठबन्धनमा सल्लाह गरेर अघि बढ्ने बताए।
‘सर्वोच्चले विधिको शासन बचाएको छ। केपी ओलीले पटक पटक संविधान मिच्ने काम गरे। हामीले त्यसको विरोध गर्दै आइरहेका छौं। संसद् भनेको जनप्रतिनिधिको ठाउँ हो। लोकतन्त्रमा संसदले गर्ने काम महत्वपूर्ण हुन्छ,’ उनले भने।
उनले थपे, ‘सर्वोच्चको फैसला आएपछि अब हामीहरु सल्लाह गर्छौं। हामी सर्वोच्चमा न्याय माग्न गएका थियौं, सर्वोच्चले न्याय दिएको छ। अब सल्लाह गरेर अघि बढ्छौं।’
देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमा सर्वोच्चले सोमबार संसद् विघटनको निर्णय बदर गर्न परमादेश जारी गरेको हो।