काठमाडौं- वरिष्ठ अधिवक्ताहरुले शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नबनाउनेमा शंका गर्नुपर्ने कारण नभएको बताएका छन्। उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले नमानेर 'धरै' नभएको बताएका छन्।
वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको फैसला अनुसार अब शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि थापाले अब सिधै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताएका हुन्।
‘सर्वोच्चको फैसलाअनुसार अब सरकार गठन चाँहि सिधै प्रधानमन्त्री शेरबहादुरलाई बनाउ भन्ने हो। सात दिनबाट उहाँको विश्वासको मत सुरु हुन्छ,’ वरिष्ठ अधिवक्ता थापाले भने।
उनले राष्ट्रपतिले अदालतको फैसला मान्दिनँ भन्न नपाउने बताए। यसअघिका राष्ट्रपतिका गतिविध प्रति शंका गर्दै नेपाल समयले राखेको जिज्ञासामा थापाले मनपरी गर्नेलाई जनताले तह लगाउने बताए। ‘तपाईहरु यस्तो ब्याख्या गुर्नहुन्छ? कसलाई समाप्त गर्नु छ भन्ने जनताले निर्णय गर्छ,’ उनले भने, ‘यो संविधान अनुसार एक जना त प्रधानमन्त्री हुन्छ। यसमा पनि के संका गर्नु हुन्छ तपाईहरू? राष्ट्रपतिले मान्नु भएन भने उपराष्ट्रपनि हुनुहुन्छ त्यहाँ। यो कुरा सोध्दै नसोध्नुस्। केही त केही निस्किन्छ।'
यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा कुनै समस्या नरहेको बताए। भोलि ५ बजेभित्र राष्ट्रपति कार्यालयले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी राष्ट्रपति कार्यालयले दिने उनले विश्वास व्यक्त गरे।
'राष्ट्रपतिले भोलि ५ बजेभित्र सर्वोच्च अदालतको फैसला बमोजिम संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको छ भनेर राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्छ। त्यसपछि उहाँले कार्यभार सम्हाल्नु हुन्छ,' उनले भने।
संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि देउवाको मागदाबी खारेज गरेको भएपनि अब देउवालाई प्रधानमन्त्री नियुक्त नगर्न कुनै स्थान नरहेको बताए। त्यस्तो परिकल्पना गर्नै नसकिने उनको भनाइ छ।