काठमाडौं– एमाले युवा नेता महेश बस्नेतको उक्साहटमा एमाले कार्यकर्ता सर्वोच्च अदालतको आदेशको विरोध गर्दै सडकमा उत्रिएका छन्। एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन भएको छ। सर्वोच्चले संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो।
फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए। उनले भनेका छन्, ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाविरुद्ध विरोध जनाऔं।’
उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको पनि बताएका छन्। उनले भनेका छन्, ‘आज निर्दलीय शाषन व्यवस्थाको पुनः बीजारोपन भएको दिन। व्यस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तिका नामधारीहरुले हातमा लिएको क्षण।’ उनले अब देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेकाले परमादेश कार्यान्वन गर्न असम्भव रहेको जनाएका छन्।