काठमाडौं– एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ। आइतबार राति भएको दसबुँदे सहमतिलाई अन्तिम रुप दिन र सहमतिपछि उत्पन्न विभिन्न खालका भ्रम चिर्नका लागि दुई नेताबीच भेटवार्ता हुन लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए।
ओली र नेपालबीच भेटवार्ता गर्ने समय भने निश्चित नभएको नेम्बाङले बताए। एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति जारी गरेको थियो। त्यसलगत्तै नेताहरुले सहमतिका विषयमा फरकफरक धारणा सार्वजनिक गरिरहेका छन्।
नेम्बाङले भने, ‘हामी आइतबार राति १२ बजेसम्म प्रधानमन्त्री ओलीसँगै थियाैं। दसबुँदे सहमतिका बारेमा उहाँलाई ब्रिफिङ गरेपछि साथीभाइको भेट्ने कुरा आएकाले फलो गरौं भनेका थियौं। उहाँले पनि हुन्छ, म भेट्छु भन्नुभएको छ।’
छलफलका क्रममा ओलीले १०/११ बजेसम्म भेट्ने कुरा गरेको जानकारी नेम्बाङले दिए। एमाले स्थायी कमिटी बैठकअघि नै नेताहरूबीच भेटवार्ता हुने बताइएको छ। एमाले स्थायी कमिटी बैठक अपराह्न ५ बजेका लागि बोलाइएको छ।
विवाद समाधानका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सहमतिपछि विगत चार महिनादेखि एमालेभित्र रहेको विवाद अन्त्य हुने कार्यदलका सदस्यहरुले बताएका छन्।