शुक्रबार, भदौ ५, २०८३

दान, जनचेतना र शैक्षिक अभियानमा चिकित्सक दम्पती

यहाँका एक दन्त चिकित्सक दम्पती दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहेको छ।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

चितवन- यहाँका एक दन्त चिकित्सक दम्पती दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहेको छ। प्राकृतिक विपत्तिमा परेका बेला सहयोगदेखि दन्तरोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उनीहरूले निरन्तर सहयोग गरिरहेका छन्।

भरतपुर, नारायणगढ र टाँडी बजारमा रहेको साइराम डेन्टल केयरका सञ्चालकद्वय डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपाने आफ्नो कमाइको २० प्रतिशत हाराहारी दानमा नै खर्चिन्छन्। दन्त चिकित्सामा नाम चलेको यो जोडीले दन्त पर्यटनमा पनि अभियान चलाउँदै आएको छ। 

नेपाल सरकारको १०औं तहका चिकित्सक डा. अजय यहाँको भरतपुर अस्पतालमा दन्तरोग विभागका प्रमुख पनि हुन्। दुई वर्ष बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट भइसकेका उनको जोडीले चितवन, नवलपरासी, धादिङ र गोरखाका गाउँगाउँसम्म पुगेर निःशुल्क सेवा दिएको छ।

यो जोडीले अहिलेसम्म २५ हजारभन्दा बढीलाई प्रत्यक्ष परीक्षण गराएर निःशुल्करूपमा औषधिसँगै ब्रस, दन्तमञ्जन वितरण गरिसकेको छ। आफ्नो क्लिनिकमा बिरामी भरिभराउ हुँदै गर्दा यो संख्या घटाउन जनचेतना जरुरी रहेको डा. अजय बताउँछन्। उनले भने, 'बालिबालिकाको पाठ्यक्रममा दाँतको सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्छ।' यो जोडीले शिविरमा दाँत निकाल्ने, भर्ने, सफा गर्ने, निःशुल्क औषधि वितरण गर्ने र जनचेतना जगाउने गर्दै आएको छ।

जिल्लाका पिछडिएको समुदायमा पुगेर आफ्नै खर्चमा निःशुल्क शिविर गर्ने गरेको उनीहरूको भनाइ छ। गाउँगाउँमा शिविरसँगै यो दम्पतीले विपत्तिका बेला असहायलाई साथ दिने गरेको छ। जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ सामुदायका बालबालिकालाई शैक्षिक सामग्री पनि उनीहरूले समय समयमा वितरण गर्दै आएका छन्। गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदै गर्दा उनीहरूले त्यहीँ पुगेर लत्ताकपडा, खाद्यान्न, जस्तापातालगायतका सामग्री वितरण गरेका थिए।

देवघाटमा रहेका वृद्धवृद्धालाई निःशुल्क दन्त परीक्षण गर्ने, औषधि, लत्ताकपडा वितरण गर्ने उनीहरूको नियमित कामभित्र पर्छ। बाढीपहिरोका बेला सम्बन्धित ठाउँमा पुगेर सहयोग गर्ने गरेको डा. अजय बताउँछन्। त्यसो त पछिल्लो समय आएका दन्त चिकित्सकलाई प्रविधि र सीप हस्तान्तरण गर्न आफ्नै खर्चमा यो दम्पतीले गोष्ठी गर्न थालेको छ। 

वर्षमा दुई वटा गोष्ठी गर्ने योजना रहे पनि कोभिडका कारण हालसम्म तीन वटा मात्रै हुन सकेका छन्। उनी भन्छन्, 'हामीले ८० जना हाराहारी दन्त चिकित्सकलाई यहाँ बोलाएर दुईदेखि तीन दिनको आवासीय निःशुल्क कार्यक्रम गर्दै आएका छौं।' उनीहरूको आफ्नै खर्चमा यी कार्यक्रम हुँदै आएका छन्। कोरोना घटेसँगै वर्षमा दुई वटा यस्ता कार्यक्रम गर्ने उनी बताउँछन्। यस्ता कार्यक्रमले प्रविधि हस्तान्तरणमा ठूलो टेवा पुग्ने उनीहरूको बुझाइ छ।

विदेशमा छरिएर रहेका दन्त चिकित्सकलाई नेपाल बोलाउने डेन्टल प्रोजेक्ट नेपालसमेत उनीहरूले सुरु गरेका छन्। पन्ध्र दिने यस कार्यक्रममा विदेशी दन्त चिकित्सक यहाँ आएर उपचारका बारेमा छलफल परामर्शसँगै यहाँका पर्यटकीय क्षेत्र घुम्ने गर्दछन्। सन् २०१५ देखि उनीहरूले यो अभियान सुरु गरेका हुन्। कम्तीमा १५ र बढीमा २५ जनासम्म चिकित्सक आउने गरेकोमा पछिल्ला वर्षहरुमा कोभिडबाट प्रभावित बनेको छ। घुमेर फर्किँदै गर्दा उनीहरु हर्षित भएको न्यौपाने दम्पती बताउँछ। प्रविधि साटासाट गरेर उपचारमा सहजता आएको उनीहरूको बुझाइ छ।

डेन्टल टुरिजमअन्तर्गत रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घसँग मिलेर साइराम डेन्टलले अन्तरक्रियात्मक कार्यक्रमसमेत गरिएको थियो। विदेशमा दाँतको उपचार महँगो हुने हुँदा युरोप, अमेरिका, अष्ट्रेलियालगायतमा देशमा रहेका नेपाली उपचार गर्न यहाँ आउने गर्दछन्। यस अभियानमा विदेशीलाई समेत जोड्ने जमर्को यो दम्पतीले गरेको छ। दाँतको उपचार निकै महँगो हुने भए पनि अरु देशको तुलनामा नेपालमा ८० प्रतिशत सस्तो हुने गरेको पाइन्छ। 

थाइल्याण्ड, कम्बोडिया, भियतनामजस्ता देशले डेन्टल टुरिजममा राम्रो प्रगति गरेको भन्दै डा. अजयले भने, 'नेपालमा पनि यो निकै राम्रो गर्न सकिन्छ । यहाँको भविष्य उज्ज्वल छ।' नेपाल शान्त देश, अतिथि सत्कारमा उत्कृष्ट, दाँतको उपचारमा दक्ष जनशक्ति, विदेशकै उपकरणको प्रयोग भए पनि खर्च कम लाग्ने गरेको छ।

दन्त चिकित्सा क्षेत्रलाई उत्कृष्ट बनाउन यो दम्पतीले पढ्दै गरेका चिकित्सक र भर्खरै कर्ममा लागेकालाई विभिन्न ढङ्गले सहयोग पनि गर्दै आएको छ। गत वर्षको कोभिडताका १२ लाख उनीहरूका लागि यो दम्पतीले खर्च गरेको थियो। डा. सरुका अनुसार पढ्दै गरेका विद्यार्थी र भर्खरै काम थालेका दन्त चिकित्सकलाई १० लाख र नेपाल डेन्टल एशोसिएशनलाई दुई लाख सहयोग गरिएको हो। यस वर्ष अक्सिजन, मास्क, पिपिईजस्ता स्वास्थ्य सामग्री सरकारी अस्पताल, पत्रकार, सुरक्षाकर्मीलाई सहयोग गरेको उनी बताउँछिन्। छ लाखभन्दा बढीको सामग्री किनेर वितरण गरेको सरुले जानकारी दिइन्।

स्वास्थ्य स्वयंसेविकामार्फत जनचेतना जगाउन रत्ननगर नगरपालिकासँग मिलेर तालीम गरेको उनको भनाइ छ। उनले भने, 'दाँतको उपचार गर्नै नपर्ने गरी जनचेतना जगाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुँदोरहेछ', कसरी बिरामी घटाउन सकिन्छ भन्ने चिन्तामा डुबेको यो जोडीमध्येकी सरु भन्छिन्, 'बच्चाको औषधि गुलियो हुने र खाएपछि कुल्ला गर्न नभनिएकै कारण धेरै बालबालिकाको दाँत बिग्रिएको छ।' बाल रोग विशेषज्ञसँग यस विषयमा अन्तरक्रिया गर्ने तयारीमा उनीहरू छन्। सरुले भनिन्, 'दाँतमा समस्या भएको बच्चा अन्य बच्चाको तुलनामा मानसिक र शारीरिक विकासमा पछि पर्छ।'

नेपालमा रोगको रोकथाम नै गर्नुपर्ने भन्दै उनले उपचार गर्न आवश्यक संख्या चिकित्सक नभएको, औजार उपकरण खरिद गर्न आवश्यक बजेट नपुग्ने र भौतिक पूर्वाधारमा ठूलो खर्च हुने हुँदा गाउँगाउँसम्म यो सेवा पुग्न नसकेको सरुले बताइन्। उपचार महँगो तर रोकथाम अति सस्तो हुने उल्लेख गर्दै उनले भनिन्, 'जनचेतना जगाएर रोकथाम गर्न सकिन्छ, तर उपचार महँगो छ।' 

उनीहरूसँग निकट सम्बन्ध राख्नुहुने वरिष्ठ पत्रकार दीपक आचार्य सामाजिक सेवामा युवा उमेरमा यो चिकित्सक दम्पतीले गरेको योगदान उदाहरणीय रहेको बताउँछन्। उनले भने, 'जहाँ अप्ठ्यारो पर्छ, त्यहाँ सहयोग लिएर यो दम्पती पुग्ने गरेको छ।' रोग लाग्न नदिनका लागि जुन अभियान सञ्चालन गरिरहनुभएको छ त्यसलाई सबैको साथ र सहयोग चाहिने उनको भनाइ छ। ट्रष्ट बनाएर यस्तो सहयोग गर्न आफूले सुझाव दिएको आचार्यको भनाइ छ।

वि.सं. २०६१ देखि जिल्लामा दन्तरोगको उपचार गर्दै आएको यो जोडी बङ्गलादेशबाट ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस) गरेर नेपाल फर्किएको हो। डा. अजय बिडिएसमा गोल्डमेडलिष्ट हुन्। नेपाल आएलगत्तै कर्मथलो चितवन बनाएर उनीहरू सेवामा जुटेका हुन्। सँगै अध्ययन गरेका अजय र सरुले नेपाल आएर विवाह गरी स्वास्थ्य क्षेत्रमा लागेका हुन्। मूल घर काठमाडौं भएको यो जोडी अहिले भरतपुरको स्थायी बसिन्दा भएको छ। रासस

प्रकाशित: Jul 12, 2021| 02:50 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।