विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँस्थित सडकमा गुडिरहेको यात्रुबहाक बसबाट हामफालेर ओर्लिन खोज्दा आइतबार साँझ एक जनाको मृत्यु भएको छ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमनकुमार तिमल्सिनाका अनुसार आफूले यात्रा गरिरहेको बसबाट हामफालेर ओर्लन खोज्दा लडेर ओखलढुङ्गा घर भइ सुन्दरहरैँचा-७ मा बस्दै आएका २७ वर्षीय दीपेन कट्टेलको मृत्यु भएको हो। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको को १ ख ७८२९ नम्बरको बसबाट कट्टेलले हामफालेको तिमल्सिनाले बताए।
नरोकिएकै अवस्थामा सडकमा गुडिरहेको बसबाट हामफालेर ओर्लन खोज्दा लडेर साँझ ६:१० बजेतिर उनी गम्भीर घाइते भएका थिए। तिमल्सिनाका अनुसार कट्टेलको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा साँझ ७:४० बजेतिर मृत्यु भएको हो।
बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-९ का ३० वर्षीय दीपक रेग्मीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।