काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले असार २८ (आज) सम्मलाई मुद्दाको पेसी हेर्दाहेर्दैमा राखेको थियो । रिट निवेदक, विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले मुद्दा हेर्दादेर्दैमा राखेर २८ असारका लागि पेसी तोकेका थिए ।
आज प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ। सम्भवतः आजै फैसला आउन सक्नेछ। नभ्याए सर्वोच्चले अर्को दिन पेसी तोकेर फैसला गर्नेछ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरियोस् भनेर १ सय ४६ जना सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेपछि संवैधानिक इजलासमा सो विषयमा लामै बहस भयो। प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयको नाममा परमादेश माग भएको विषयमा सर्वोच्चले व्याख्या गर्नेछ।
निवेदकले उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिनुपर्ने र मिति नै तोकेर प्रतिनिधिसभा बैठक विश्वासको मत प्रयोजनका लागि बोलाउन आदेशको माग गरेका छन्। यसमा ७६(५) को अस्पष्टता क्लियर गर्ने काम संवैधानिक इजलासले गर्ने नै छ। त्यसैले नै कस्तो फैसला आउने भन्ने तय गर्ने छ।