काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गरेको हो।
'निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ,' मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले पनि हालै निगम व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेका थिए। निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन्।
निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगमभित्रका केही कर्मचारी सङ्गठनले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा पाँच दिनसम्म तालाबन्दी गरेका थिए। प्रहरी प्रशासनको सहयोगमा तालाबन्दी खुलाइएको छ। कर्मचारीको विरोध भने अझै साम्य भएको छैन। उनीहरुले महाप्रबन्धक पौडेललाई काममा अवरोध गरेका छन्।
सरकारले चालू आवको बजेटमार्फत निगमको सङ्गठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धताबमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नेबारे आवश्यक तयारीस्वरुप विभिन्न विकल्पमा छलफलको प्रक्रिया मात्रै अघि बढेको निगमले यसअघि नै स्पष्ट पारिसकेको छ।