बुटवल– लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–०७९ को बजेटमाथि आइतबारदेखि छलफल शुरु भएको छ। विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै बजेटमाथि छलफल गराउनुअघि नै राजीनामाको माग गर्दै आएका थिए।
गत असार ६ गते विपक्षी दलहरुले आफ्नो धारणा राखेसँगै संसद नै बहिष्कार गरेका थिए। त्यसपछि ९ गते विपक्षीहरुले अवरोध गर्ने भएपछि बैठक नै नबसी १७ दिनसम्म बैठक स्थगित भएको थियो। आईतबार विपक्षीहरुले बहिष्कार गर्ने अनुमान गरिए पनि विपक्षी दलले आफ्नो धारणा राखेपछि बजेटमाथिको छलफल शुरु भएको हो।
विपक्षी गठन्धनका मुख्यमन्त्रीका दावेदार समेत रहेका माओबादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीले लुम्बिनीमा संविधानको अपब्याख्या गरेर बलमिचाइ गरेको आरोप लगाए। नेपालभित्रकै शक्ति र तागतसँग सहकार्य गर्न उनको ध्यानाकर्षण गराए। उनले सत्तासिन दललाई संविधानको धारा र संस्कारलाई ख्याल गर्न आग्रह गरे। ‘राजनीनितक रुपले हामीले सम्मान गर्न चाहन्छौं, तर, असंवैधानिक रुपमा संसदलाई इगो बनाए ठूलो दुर्घटना हुनेछ,’ उनले भने।
केसीले केन्द्रमा विपक्षी गठबन्धनलाई बलमिचाइ गरेर अगाडी बढ्न खोजे ठूलो दुर्घटना हुने भन्दै सत्तापक्षलाई चेतावनी दिए। उनले सरकारलाई लोकतान्त्रिक पद्धतीबाट चल्न आग्रह गरे। उनले अहिले नेपालमा महेन्द्र चौधरी राष्ट्रवाद देखा परेको बताए। ‘आफ्नो कुकर्म बोकेर अदालतलाई थोपरेर मज्जाक गर्न पाइन्छ?’ उनले भने। लुम्बिनी प्रदेशको गरिमाको संस्थालाई भन्न पनि लाज लाग्ने गरि प्रदेश प्रमुखले गरेको काम गरेकोमा केसीले आपत्ति जनाए।
उनले लोकतन्त्रमाथि भएको हमलाको प्रतिवाद गर्ने चिन्ता गर्नुपरेको बताए। केसीको सम्बोधनपछि बजेट माथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भएको थियो। छलफलमा विपक्षी गठबन्धनका सांसदले बजेट जनमुखी नभई सत्तासिन दल र मन्त्रीको मनमौजी भएको टिप्पणी गरे।
नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले सरकारले ल्याएको बजेट जनताको पक्षमा नरहेको बताए। उनले रातो किताब नै हेर्न लायक नै नरहेको बताए। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बजेटले मन्त्रीको जिल्लामा केन्द्रीत बजेट आएको बताए। उनले जनतालाई छुने गरी बजेट नआएको बताए।
सत्तासिन नेकपा एमालेका सांसद विष्णु पन्थी र कमलादेवी विश्वकर्माले समर्थन गर्दै बजेटले सबै पक्षलाई समेटेको बताए। आर्थिक मामिला तथा योजना मन्त्री बैजना चौधरीले लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश भएको छ । प्रदेश सभा सेवा र कार्यका लागि लुम्बिनीमा संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ। अर्को बैठक सोमबार विहान ११ बजे बस्ने छ।