काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहमा एकता कायम गराउने प्रयासस्वरुप नेता अर्जुननरसिंह केसीले युवा नेताहरुसँग छलफल थालेका छन्।
केसीले आइतबार युवा नेताहरुसँग छलफल थालेका हुन्। उनका स्वकीय सचिव निराजन थापाका अनुसार अहिले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा केसी र युवा नेताहरुबीच छलफल भइरहेको छ।
‘पार्टीमा युवा नेताहरु एक ठाउँमा आउनुपर्यो। संस्थापन इतर समुह एक ठाउँमा उभिएर महाधिवशेनमा साझा उम्मेदवार तय गर्नुपर्यो भनेर नै दाइ (केसी)ले युवा नेताहरुसँग छलफल गरिरहनुभएको छ,’ थापाले भने।
केसीले गत शुक्रबार सभापतिका आकांक्षीहरुलाई एक ठाउँमा उपस्थित गराएर छलफल गरेका थिए। संस्थापन इतर समूहबाट सभापतिका ८ जना आकांक्षी छन्। आकांक्षी मध्येबाट एक जना उम्मेद्वार बन्नुपर्नेमा केसीको जोड छ। ‘हाम्रो समूहबाट एकजना मात्रै उम्मेदवार तय गर्ने प्रयासमा छु। एकजनाको नाममा सहमति जुटे म त्याग गर्न तयार छु। हैन भने म पनि सभापति लड्छु,’ केसीले भन्दै आएका छन्।
युवा नेता मार्फत संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढाउने योजना अनुसार छलफल थालिएको बुझिएको छ।
छलफलमा गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे धनराज गुरूङ, बद्री पाण्डे, चन्द्र भण्डारी, जीवन परियार, किरण यादव लगायतका युवा नेताहरु उपस्थित छन्।