बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबल खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्रीले भने– अर्को पुरस्कार लिने तयारीमा लाग्नुस्

फुटबल खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्रीले भने– अर्को पुरस्कार लिने तयारीमा लाग्नुस्

थ्री नेसन्स कपमा जित निकालेको नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधामन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं– थ्री नेसन्स कपमा जित निकालेको नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधामन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।

नेपालले गत चैतमा नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो। सो प्रतियोगिताको फाइनलमा बंगलादेशलाई २–० गोलले हराउँदै नेपालले जित निकालेको थियो।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई समान ४–४ लाख पुरस्कार दिने घोषणा गरेका थिए। पछि वैशाख १५ गते बसेको मन्त्रीपरिषद् बैठकले सो पुरस्कार दिने निर्णय पारित गरेको थियो।

त्यसपछि आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधामन्त्रीले खेलाडीको सम्मान गरेका हुन्। कार्यक्रममा उनले नेपालले आउँदो साफ गेम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘के तपाईं साफ जित्न तयार हुनुहुन्छ? खेल्न होइन जित्न तयार हुनुहुन्छ कि हुनुहुन्न?’ उनले प्रश्नसहित प्रतिबद्धता व्यक्त गरे, ‘यदि तपाईंहरु जित्न तयार हुनुहुन्छ भने हामी आयोजना गर्न सक्छौं।’

यो साफ च्याम्पियनसिप बंगलादेशले गत वर्ष नै आयोजना गर्ने भए पनि कोभिडका कारण स्थगित भएको थियो। एक वर्ष स्थगित भएको प्रतियोगिता यो वर्ष आयोजना हुने निर्धारण गरिएको छ। अहिले बंगलादेशले कोभिड र विभिन्न कारण देखाउँदै आयोजना गर्न नसकेको अवस्थामा यसको आयोजना श्रीलंका वा नेपालको पक्षमा गएको छ। त्यसैले प्रतियोगिता आयोजनामा नेपालले इच्छा देखाएको छ।

यसअघि नेपालले १९९७ र २०१३ मा पनि आयोजना गरेको थियो। आउने साफमा जित निकाल्नका लागि प्रधानमन्त्रीले टिप्स पनि दिएका छन्। उनले भने, ‘पहिलो कुरा खेलाडीमा मनोबल हुनुपर्छ। हामी साफमा दोस्रो भएको टिम हो। हामीले सागमा जितेका छौं। तर साफमा जितेका छैनौं। त्यसैले हामीले अब जित्नुपर्छ।’

‘जित्न तयार हुनुहुन्छ?’ भन्ने प्रधानमन्त्रीको प्रश्नमा खेलाडीले तयार छौं भनेपछि प्रधानमन्त्रीले विस्तारै विस्तारै जित्ने बानी बढाउनुपर्ने बताए। ‘टिमको आत्मबल बढ्नु भनेको हरेक खेलाडीको मनोबल बढ्नु हो। त्यसैले नेपाललाई जिताउन सबै खेलाडीको दायित्व हो। त्यो जिम्मेवारी खेलाडीलाई हुनुपर्छ,’ उनले भने।

त्यस्तै, आउँदो सेप्टेम्बर १४ देखि २५ मा आयोजना गर्ने भनिएको साफपछि दशैं मनाउँदा खेलाडीका र नेपाली फुटबल समर्थकका लागि दशैँ अझै रामाइलो हुने प्रधानमन्त्रीको भनाइ छ। ‘हामी साफ गेम खेलेर दशैँ मनाउन सक्छौं। साफ गेम जितेको दशैं रमाइलो हुन्छ होला,’ उनले अन्तिममा आदेशको शैलीमा भने, ‘धेरै कुरा नभनौँ अर्को पुरस्कार लिने तयारीमा लाग्नुस्।’

यता नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले साफ जित्ने आशामा रहेको बताए। उनले भने, ‘हामी साफ जितेर फेरि फुटबल खेलाडीलाई सम्मान गर्न बाध्य बनाउने छौं।’ नेपालमा आयोजना गरेर जित निकाल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्र सबै काम गर्न नसक्ने हुँदा त्यसमाथिका निकायले सहयोग गरोस् भन्ने खेलाडीको आशा रहेको कप्तान लिम्बू बताउँछन्।

साफ प्रतियोगितालाई नेपालले आयोजना गर्न सके नेपाली खेलकुदको विकासमा थप सहयोग पुग्ने कप्तान लिम्बूको ठम्याइ छ।
 

प्रकाशित: Jul 11, 2021| 10:36 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।