काठमाडौं– विपक्षी दलका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनको कार्यक्रम अन्तर्गत असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोल पम्प र ट्यांकर सञ्चालन गर्न नदिने र असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने भएका छन्। आफूहरुको माग पूरा नभए अझै सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले बताए।
पाँच विद्यार्थी संगठनले यसअघि पनि विघटित संसदको पुनःस्थापना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान लगायतको माग गर्दै प्रदर्शन गरेका थिए।