काठमाडौं– नेकपा (माओवादी केन्द्र) विघटन गर्नुपर्ने माग गर्दै दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ।
केही दिनअघि परेको उक्त निवेदनमाथि छानबिन गर्दा माओवादी केन्द्रको वैधानिकता कायम रहेको देखिएकोले निवेदन नै खारेज गरिएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। नेपालको संविधान, प्रचलिन कानुन, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्र वैधानिक नै रहेको आयोगले ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए।
नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले उक्त निवेदन दिएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकतामा प्रश्न उठाउँदै उक्त पार्टी खारेज गर्न निवेदकले माग गरेका थिए।
आयोगमा निवेदन परेपछि पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आयोग पुगेर निवेदनमाथि छानबिन गर्न माग गरेका थिए।
माओवादी केन्द्रको वैधानिकताका लागि निर्वाचन आयोगले प्रस्तुत गरेका ५ आधार
१) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३२ को निर्णय अनुसार निर्वाचन आयोगमा दर्ता भएको
२) सोही नाममा माओवादी केन्द्रले २०७४ सालको चुनावमा भाग लिएको
३) एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको
४) नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दलका रुपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्णय भएको
५) नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै दलका रुपमा रहने भनी २०७७ फागुन २५ मा निर्वाचन आयोगले निर्णय गरेको र सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएको