काठमाडौैं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको शतप्रतिशत सेयर निजी क्षेत्रलाई जिम्मा लगाउने सरकारी प्रपञ्च निन्दनीय र घृणित रहेको भन्दै आपत्ति जनाएका छन्। ‘निगम निजीकरणको भित्री अभीष्ट ओली नजिकका दलाल पुँजीपतिलाई नै संस्थान पोस्नु हो। क्रोनी क्यापिटालिज्म (दलाल पुँजीवाद) को योभन्दा नग्न रूप अरु के हुन सक्छ?’ भट्टराईले आइतबार अपिल जारी गर्दै भनेका छन्।
उड्डयन व्यवसाय सम्बन्धमा अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्य नियुक्त गरी तिनीहरुबाट अनेकौं क्रियाकलाप गराएर संस्थानलाई धराशयी तुल्याएइएको आरोप उनको छ।
भट्टराईले भनेका छन्, ‘संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणका नाममा आफ्ना निकटस्थ दलाललाई बिक्री गर्ने षड्यन्त्र नेपाली जनतालाई सह्य हुँदैन।’ भट्टराईले ओली सरकारलाई विभिन्न प्रश्नको जवाफ दिन पनि चुनौती दिएका छन्।
निगमसँग हुँदै नभएको लामो दूरीको रुटका रुपमा सिड्नी, लन्डन, सियोल, न्युयोर्क, बेइजिङ उडान गर्नका लागि भनी काल्पनिक व्यापारिक रणनीति तयार गरिएको आरोप भट्टराईको छ।
‘काण्डैकाण्डले थिल्थिलो परेको निगमलाई प्राणसञ्चार गराउन हिसिला यमी पर्यटन तथा नागरिक उड्डयनमन्त्री र म अर्थमन्त्री भएका बेला दुईवटा न्यारो बडी विमान खरिद गर्न नेपाल सरकार जमानत बस्ने व्यवस्था गरिएको थियो,’ भट्टराईले भनेका छन्, ‘हाम्रै सरकारको पालोमा दुईवटा न्यारो बडी विमान खरिद प्रक्रिया अगाडि बढाइएकोमा निगमले दुईवटा एयरबस–३२० विमान प्राप्त गरिसकेको थियो।’
तर निगमसँग हुँदै नभएको लामो दूरीको रुटका रुपमा सिड्नी, लन्डन, सियोल, न्युयोर्क, बेइजिङ उडान गर्नका लागि भनी काल्पनिक व्यापारिक रणनीति तयार गरिएको आरोप भट्टराईको छ।
उनले कमिसन हात पार्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२÷१२ अर्ब रुपैयाँ नेपाल सरकारको जमानतमा निगमलाई ऋण प्राप्त गर्न लगाई दुईवटा वाइड बडी एयरबस–३३० विमान रु २४ अर्बमा खरिद गर्न लगाइएको पनि बताएका छन्।


