शुक्रबार, भदौ ५, २०८३

ससाना शब्दहरूसित [कविता]

तर, तिमी त्यस्तो ठूलो शब्द होइनौ मेरा लागि यद्यपि, प्रेम ठूलो कुरा हो त्यसैले  तिम्रो अनुस्थितिमा म झन् कविता लेख्छु  छरितो कविता।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

जब म
एउटा छरितो कविता लेख्न बस्छु
र सजिला, साधारण शब्दहरूसित खेल्न थाल्छु
अचानक 
ठूलो शब्द आइदिन्छ- महाकाव्य
र मेरो सानो कविताको घडेरी हल्लाइदिन्छ।

जब,
मसिना घरहरूबीच
जबर्जस्ती उभिन्छ भीमकाय कम्प्लेक्स 
तब त्यति धेरै 
ती घरहरू कता हराउँछन्...?
ती झुप्राहरूमाथि,
हिजोसम्म फर्फराइरहेका लुङदर र ध्वजापताकाहरू 
जो मेरा कविताका गहिरा बिम्ब थिए 
आ-आफ्नै दु:ख बुझाउन, 
रूपीका हुलजस्ता चर्को स्वरमा बाझिरहेका
ती झुप्रोका मानिसहरू कता गए...?
जसका मसिना सपना मेरा कविताका प्राण थिए
म फेरि तिनलाई 
ससाना शब्दमा खोज्न थाल्छु।
यो एकान्तमा झन्
ठूला शब्दहरूको उपस्थिति प्रीतिकर छैन मलाई।

जब म,
ससाना ताराहरूसित बात मारिरहेको हुन्छु
आइदिन्छ शब्दसूर्य
तब मैले यो बार्दली छोड्नुपर्छ
सिमसिम पानी त मन पर्छ मलाई 
तर झरी बर्सन थालेपछि
मैले यो खेतको डिल छोड्नुपर्छ
ठूलो भुइचालो 
ठूलो बाढी पहिरो
ठूलो महामारी
यी त अकल्पनीय हुन्
तर, एउटा साधारण कविले यी सब भोग्नुपर्छ 
अहो! हिजो,  
अमेरिका, जर्मनी, रूस, बेलायत, जापान आउँदा
कस्तो सास्ती भोग्नुपर्‍यो होला ससाना मुलुकहरूले...?
अचानक आइपुगेको अरिङ्गालसित 
आफ्नै गुँडमा जुझिरहेका माहुरी हेर्दै
म कल्पिन्छु।

हामीबीच,
कुशल मङ्गलै...?
धेरैपछि भेट भो हगि...?
अघिमात्र सम्झेको थेँ...! जस्ता 
ससाना आत्मीय कति कुरा भइरहेका बेला
जब आइदिन्छ ठूलो मान्छे सभास्थलमा
हामी अचानक संवादहीन भइदिन्छौँ अपरिचितझैं।।

अफसोच! 
हामीले एकोहोरो सुन्नुपर्छ उपदेश गणतन्त्रको 
गणतन्त्र आफैँमा यति ठूलो शब्द हो
हामी निस्लोट भइदिन्छौँ
किनभने,-
हामीसित यसको ठीक विकल्प छैन ।

तर,
तिमी त्यस्तो ठूलो शब्द होइनौ मेरा लागि
यद्यपि, प्रेम ठूलो कुरा हो
त्यसैले 
तिम्रो अनुस्थितिमा
म झन् कविता लेख्छु 
छरितो कविता।

प्रकाशित: Jul 10, 2021| 14:13 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।