काठमाडौं- बृहत् नागरिक आन्दोलनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्याबारे सरकार संवेदनशील नबनेको आरोप लगाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलनले यस्तो आरोप लगाएको हो।
'धरानमा आन्दोलन चौथो सातामा चलिरहँदासमेत सरकारले वार्ताको पहल समेत गरेको छैन। तर सरकार निष्क्रिय र मौन भने छैन। भ्रष्टाचारीहरूको संरक्षणमा व्यस्त छ,' आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अख्तियारदेखि अदालतसम्म प्रभावित गर्ने दाउपेचमा छ। निजी अस्पतालका व्यापारिक स्वार्थलाई नीतिग रूपमा सघाउने खोजीमा व्यस्त छ।'
बिपी प्रतिष्ठानको समस्या समाधान गर्न दबाब दिने उद्देश्यले आइतबार बिहान सिंहदरवार घेराउको कार्यक्रम समेत आन्दोलनले घोषणा गरेको छ। बिहान ११ बजे सिंहदरवार घेराउ गरिने भएकाले सबैलाई सशरीर उपस्थित हुन आन्दोलनले अपिल गरेको छ।
आन्दोलनले सरकारलाई आआफ्नो ठाउँबाट सजक गराउन र भ्रष्टाचारको प्रतिरोध गर्न सबै नागरिकमा आह्वान गरेको छ।

