काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विवाद समाधान कार्यदल सदस्य गोकर्ण विष्टले एमालेबारे भोलि सुखद् समाचार सुन्न पाइने बताएका छन्। शनिबार साँँझ कार्यदल बैठकमा सहभागी भएपछि बाहिरिने क्रममा सञ्चारमाध्यमसँग कुराकानी गर्दै नेता विष्टले यस्तो दाबी गरेका हुन्।
'हामी अन्तिम-अन्तिम अवस्थामा आइपुगेका छौँ। अब छलफलका धेरै विषय छैनन्। आजै सुखद् समाचार घोषणा गर्न सकेनौँ,' उनले भने, 'आज हामी धेरै अन्तिम बिन्दुसम्म आइपुगेका छौँ। लगभग लगभग निष्कर्षमा पुगेका छौँ। एमाले एकताको सुखद् समाचार भोलि सुन्न पाइन्छ।'
शनिबारको बैठकले विवाद समाधानको विषयलाई अन्तिम रूप दिने भनिएपनि आज पनि बैठकले ठोस निष्कर्ष निकाल्न नसकेको हो। यसअघि पनि पटकपटक दुवै पक्षका कार्यदल सदस्यहरूले एमाले विवाद 'भोलि समाधान हुन्छ' भन्दै आइरहेका थिए।