काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भएको भेटलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले आपत्ति जनाएपछि नेता नेपालले आफूले दाहालसँग राजनीतिक कुराकानी नगरेको दाबी गरेका छन्।
दुई नेताको भेटका विषयलाई लिएर एमालेको विवाद समाधान गर्न गठित ओली पक्षीय कार्यदलका सदस्यहरूले आपत्ति जनाएपछि नेता नेपालले विज्ञप्ति जारी गरी यस्तो दाबी गरेका हुन्। एमाले विवाद समाधान कार्यदलको बैठक शनिबार साढे दुई बजेका लागि सिंहदरबारमा डाकिएको थियो। बैठकमा नेताहरू जम्मा भएपछि ओली पक्षीय कार्यदलका सदस्यहरूले नेता नेपाल र दाहालबीचको भेटलाई लिएर प्रश्न उठाएका थिए।
माधव कमरेडलाई कार्यदल र वार्ताप्रति विश्वास देखिएन। उहाँले दाहालसँगको सम्बन्ध कायमै राख्ने हो भने कार्यदल र वार्ताको के औचित्य भयो र?’, ओली पक्षीय एक नेताले प्रश्न उठाएका थिए।
‘माधव कमरेडलाई कार्यदल र वार्ताप्रति विश्वास देखिएन। उहाँले दाहालसँगको सम्बन्ध कायमै राख्ने हो भने कार्यदल र वार्ताको के औचित्य भयो र?’, ओली पक्षीय एक नेताले प्रश्न उठाएका थिए। वार्तास्थलमा यस विषयमा कार्यदलका सदस्यहरूबाट आपत्ति जनाइएपछि नेताहरू कोटेश्वर गएको उनले जानकारी दिए।
वार्ता सुरु नभएपछि नेपाल पक्षीय कार्यदलका सदस्यहरू वार्तामा नबसी नेता नेपालसँग परामर्श गर्न उनको निवास कोटेश्वरमा पुगेका थिए। कार्यदलका सदस्यहरूसँग छलफल गरेपछि नेता नेपालले विज्ञप्ति जारी गरेका हुन्। यद्यपि नेपाल पक्षका नेताहरूले भने सहमतिको मस्यौदाका विषयमा कुराकानी गर्न आफूहरू नेपाल निवास गएको दाबी गरेका छन्।
नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच राजनीतिक कुराकानी नभएको दाबी गरिएको छ। यद्यपि दाहाल निकट स्रोतले भने दुई नेताबीच समसामयिक राजनीति र खास गरी पाँचदलीय गबन्धन जोगाउनुपर्ने विषयमा कुराकानी भएको जनाएको छ। नेपालसँगको भेटमा दाहालले केपी ओलीलाई विश्वास नगर्न र गठबन्धन नछाड्न आग्रह गरेका थिए।
गौतमले जारी गरेको विज्ञप्तिमा भने नेता नेपाल केही दिनदेखि जनै खटिरा आएर घरमै आराम गरिरहेको उल्लेख छ। विज्ञप्तिमा उल्लेख छ, 'आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहॅाको स्वास्थ्य समस्याका कारण संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।'
कार्यदल सदस्यहरू नेता नेपालसँग छलफल गरी सिंहदरवार फर्किएपछि कार्यदल बैठक सुरु भएको छ। नेता नेपाललाई भेट्न उनी पक्षका कार्यदल सदस्यहरू कोटेश्वर लागे पनि ओली पक्षका नेताहरू भने अर्थ मन्त्रालय परिसरमा नै थिए। नेपाल पक्षका कार्यदल सदस्यहरूलाई पर्खदै उनीहरूले पनि आन्तरिक छलफल गरेका थिए।
शनिबारको कार्यदल बैठकले एमाले विवाद समाधानको मस्यौदालाई अन्तिम रूप दिने दुवै पक्षका कार्यदल सदस्यहरूले बताउँदै आएका छन्।
सम्बन्धित समाचार