काठमाडौं- कोपा अमेरिका फाइनललाई लिएर दर्शकलाई खुसीको खबर आएको छ।
ब्राजिल र अर्जेन्टिनाबीच हुने कोपा अमेरिका फाइनल खेल माराकाना स्टेडियमको कुल क्षमताको दस प्रतिशत दर्शकले प्रवेशको अनुमति पाएका छन्।
तर सहभागी हुने समर्थको कोरोना जाँच भने हुनेछ। कोपा अमेरिका फाइनल खेल भोलि (आइतबार) बिहान पौने ६ बजे हुँदैछ। दर्शकको उपस्थितिले यो फाइनल प्रतियोगिता अझै रोमाञ्चक हुने विश्वास गरिएको छ। कोपा अमेरिका अन्तर्गत यसअघिका सबै खेल बन्द रंगशालमा गरिएको थियो।
रियो डि जेनेरियो शहरका सचिव डेनियल सोराजले शुक्रबार एक निर्देशन जारी गर्दै ७८ हजार दर्शक अट्ने स्टेडियमको हर वर्गमा १० प्रतिशत दर्शक बस्न पाउनेछन्। यससँगै अब ७ हजार ८०० दर्शकले रंगशालामै उपस्थित भएर खेल हेर्न पाउनेछन्।
साथै कोनमेबोलले शुक्रबार दुवै टिमले समान २२०० समर्थक ल्याउन सक्ने बताएको छ। उपस्थित हुने दर्शकले रंगशालामा अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यस्तै, सामाजिक दूरी पालना गर्नुपर्ने छ भने खेलका क्रममा खाद्य र पेय पदार्थमा रोक लगाइएको छ।
यसअघि २०१९ को कोपा अमेरिका फाइनलमा ६० हजार दर्शकको उपस्थिति थियो। जहाँ ब्राजिलले पेरुलाई ३-१ गोलले हराएको थियो।