सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली सीमा अनुगमनमा गर्न हुम्लाको लोलुङजोङ पुगेको छ। चीनसँगको सीमा नाम्खा गाउँपालिका–६ लाप्चा (लोलुङजोङ) को स्थलगत अनुगमनमा मुख्यमन्त्रीको टोली पुगेको हो।
मुख्यमन्त्रीसहित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी हेलिकोप्टरबाट लोलुङजोङ पुगेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
लोलुङजोङ क्षेत्र विवादित क्षेत्र हो। गएको असोजमा चीनले लोलुङजोङ क्षेत्रमा केही भवनहरु बनाएपछि सीमा मिचिएको भन्दै विवाद भएको थियो।
प्रदेश सरकारको तर्फबाट सीमा नाकाको अध्ययन तथा अनुगमन लागि मुख्यमन्त्रीसहितको टोली शुक्रबार मात्रै हुम्ला पुगेको थियो। टोलीले लाप्चा र हिल्सा सीमाक्षेत्र पनि अनुगमन गरेर फर्कने मुख्यमन्त्री कार्यालयले जनाएको छ।