दाङ- घोराही उपमहानगरपालिकाले घरघरबाट फोहोर खरिद गर्न थालेको छ। बोतल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दंग परेका छन्।
गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पुर्याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ।
केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो।
घोराही–१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर व्यवस्थापनले निकै पीडा दिँदै आएको थियो। हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गर्थ्यो। पहिलो पटक फोहर बेचेकी रोकाले २० केजी फोहरको र २०५ रूपैयाँ प्राप्त गरे।
यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ। चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न सुरु गरेको थियो। अहिलेसम्म झण्डै २० हजारको फोहर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए।
उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो।
उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १०, कपडा प्रति किलो पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो २, गत्ता, कापीसहित वर्गीकरणअनुसारका फोहोरलाई १० रूपैयाँदेखि २० सम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ।
यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर विक्री गरिने उपमहानगरपालिकाले जनाएको छ।