काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति गरेको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची प्रस्थान गरेका छन्। नेपाली सेनाको एनए-०५३ हेलिकप्टरबाट १२ सदस्यीय टोलीसहित हेलम्बु गएको उनको सचिवालयले जनाएको छ।
बाढीपिडितहरुको पछिल्लो अवस्था बुझ्नका लागि ओली स्थलगत अवलोकनमा गएका हुन्। उनको साथमा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ पनि छन्। असार १ गते हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोलामा ताल बनेको थियो।
ताल फुट्दा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका तटवर्ती क्षेत्रमा अर्बौंको क्षति भएको छ। प्रधानमन्त्री ओलीले मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।