काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट सभापति पदका आकांक्षीहरूलाई बोलाएर अर्जुननरसिंह केसीले सहमति नबने आफू सभापतिमा लडिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा संस्थापन पक्ष इतरका सभापतिका सबै आकांक्षीलाई बोलाए उनले आफूहरूबीच सहमति हुनुपर्ने तर सहमति नभए आफू सभापति पदमा चुनाव लड्नबाट पछि नहट्ने बताएका हुन्।
'सकेसम्म कांग्रेसभित्रै सहमति खोजौँ। सहमतिकै आधारमा सभापति चुनौँ। त्यो सकिन्ने भने पनि हामी यहाँ उपस्थित भएकाहरूबीच साझा र एक मात्र सभापति उम्मेदवार तय गरेर अघि बढौँ। सहमति हुन्छ भने म यसपटक त्याग गर्न तयार छु,' भेलामा सहभागी सभापतिका एक जना आकांक्षीले भने, 'यदि हामीहरूबीच पनि सहमति हुँदैन भने म पछि हट्नेवाला छैन। सभापतिमा चुनाव लड्छु- लड्छु।'
भेलामा सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, डा रामशरण महत, सुजता कोइराला र बलबहादुर केसी उपस्थित थिए। भेलामा सहभागी सबैजसो आकांक्षीले आगामी महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई हटाउनुपर्नेमा एक थिए।
१४औं महाधिवेशनमा एक भएर जान सकारात्मक ढंगमा छलफल भएको भेलापछि बाहिरिएका अर्का एक आकांक्षीले जानकारी दिए। उनका अनुसार केसीले सहमतिका लागि सबै एकजुट हुनुपर्ने प्रस्ताव राख्दै यस्ता भेला निरन्तर आयोजना भइराख्ने र ती भेलाबाट आफूहरूबीच सहमति खोज्नुपर्ने बताएका थिए।
नेताहरुबीच महाधिवेशनमा एकता कायम गरेर अघि बढ्ने अनौपचारिक सहमति जुटेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। आजको छलफलले संस्थापन इतरसमूहमा एकताको सम्भावनालाई बढाएको उनको भनाइ छ।
१४औं महाधिवेशनमा बलबहादुर केसीबाहेक भेलामा सहभागी सबै नेताले सभापति पदमा आकांक्षा देखाएका छन्। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि हुँदैछ।