काठमाडौं- नेकपा एमालेको विवाद सुल्झाउन छलफलरत कार्यदलका सदस्य गोकर्ण विष्टले धेरैजसो विषयमा सहमति जुटेको बताएका छन्।
शुक्रबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले छलफलका क्रममा रहेका झण्डै आधादर्जन विषयमध्ये अधिकांशमा सहमति जुटाएको कार्यदलका सदस्य विष्टको भनाइ छ।
‘हामीले आज दिनभरजसो छलफल गर्यौं, झण्डै आधादर्जन विषयमध्ये अधिकांशमा सहमति जुटेको छ, एकाध विषय बाँकी छन्, तीनमा भोलि छलफल गर्ने गरी आजको बैठक स्थगन भएको छ,’ विष्टले भने। के-के विषयमा सहमति जुटेको छ र के-के विषय बाँकी छन् भन्नेबारे भने उनले केही बताउन चााहेनन्।
सहमति फेरि भाँडिन सक्ने विषय हुन् कि भन्ने सञ्चारकर्मीको प्रश्नमा विष्टले सहमति नभाँडिने दाबी गरे। उनले सबैजसो विषयमा भोलि शनिबार टुंगो लाग्ने स्पष्ट पारेका छन्।
विष्टअघि बैठकबाट निस्किएका कार्यदलका अर्का सदस्य प्रदीप ज्ञवालीले कार्यदलले सबै विषयमा सहमति जुटाइसकेकाे र केही भाषागत परिमार्जन बाँकी रहेकाले भाेलि मिलाएर सार्वजनिक गरिने बताएका थिए।