बुटवल- कोरोनाको दोस्रो लहरबाट क्रमशः तंग्रिँदै गरेको अवस्थामा अस्पतालहरु फेरि कोरोना संक्रमितले भरिन थालेका छन्। प्रशासनले निषेध आदेश खुकुलो बनाउँदै लगेपछि मानवीय लापरबाही बढ्दा अस्पतालमा बिरामीको चाप बढेको हो।
संक्रमित घट्न थालेपछि कोरोना विशेष अस्पताल र आइसोलेसनहरु खाली भएका थिए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिड संक्रमित बिरामीले अस्पतालका बेडहरु भरिन थालेका छन्। केही दिनअघि आईसीयूमा लगभग शून्य बिरामी भएकोमा अहिले ७ जनाको आईसीयूमा उपचार भइरहेको छ। ४० जना ज्वरो क्लिनिक र आकमस्मिक कक्षमा उपचारत रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
यातायात, बजार, उद्योग कलकारखाना खुलेसँगै व्यपारिक क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएको अस्पतालहरुले जनाएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा. नन्दु पाठकले निषेध आदेश खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमितहरु आउनेक्रम वृद्धि भएको बताए। उनका अनुसार लापरबाहीका कारण संक्रमितको संख्या फेरि बढेको हो।
डा. पाठकका अनुसार अहिले बजार क्षेत्रका व्यवसायीहरुमा कोरोना संक्रमण देखापरेको छ। ‘कोभिडको जोखिम हटेको छैन, तर प्रशासनले समेत निषेध आदेश खुकुलो बनाउँदा जताततै लापरबाही बढ्यो’ डा. पाठकले भने –‘यस्तै अवस्था रहने हो भने स्थिति फेरि पहिलाकै अवस्थामा पुग्नसक्छ।’ केही दिनअघि दैनिक १०० जनाको परीक्षणमा ७÷८ जनामा कोरोना देखिएकोमा अहिले यो संख्या बढेर ४० देखि ५० को हाराहारीमा पुगेको उनले बताए।
निषेध आदेश खुकुलो भएर बजार खुल्दा व्यापारी र उपभोक्ताबीच आपसमा संक्रमण फैलिएको हुनसक्ने आंकलन गरिएको छ। चैतमा दोस्रो लहरको सुरुवातमा पनि व्यापारीहरुमा कोभिड संक्रमणदर बढी देखिएको थियो। लुम्बिनीमा प्रदेशका बुटवल, भैरहवा, नेपालगञ्ज जस्ता ठूला सहरमा लापरवाहीसँगै जोखिम बढेको छ। लुम्बिनीसहित प्रदेश सरकारका कोभिड विशेष अन्य अस्पतालहरुमा पनि क्रमशः बिरामीको संख्या बढ्न थालेको छ।
भैरहवास्थित भीम अस्पतालमा ६ जना भेन्टिलेटर÷आईसीयू र एचडीयूमा ९ जना उपचाररत छन्। भेरी अस्पतालमा ४ जना भेन्टिलेर, १२ जना आईसीयू र १९ जना एचडीयूमा उपचारत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा ९ जना आईसीयूमा उपचारत छन्। लुम्बिनीमा हाल १ हजार ५०० भन्दा धेरै उपचारत छन्। अहिलेसम्म लुम्बिनीमा कोरोनाबाट १ हजार ९६७ जनाको मृत्यू भएको छ। अहिलेसम्म लुम्बिनीमा करिब १ लाख कोरोना संक्रमित भएका छन्।
धागो कारखाना चुहिएपछि अस्पतालमै सारियो आईसीयू
प्रदेश सरकार र बुटवल उपमहानगरसहित लुम्बिनी प्रादेशिक अस्पतालले निर्माण गरेको कोरोना विशेष अस्थायी अस्पतालको सेवा आफ्नै भवनमा सारिएको छ। कोरोनाको दोस्रो लहरका बेला बुटवल रामनगरस्थित धागो कारखानामा रहेको आईसीयू बेडसहितको अस्थायी अस्पतालमा पानी चुहिएपछि अस्पतालकै भवनमा सार्न पहल गरिएको थियो।
शुक्रबार अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले वार्डको उद्घाटन गरेका छन्। उनले अस्पताल परिसरमै कोभिड आईसीयू वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए। २० शय्या रहेको आईसीयू सारिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।