विराटनगर– प्रदेश १ सरकारको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ। विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल शुक्रबार सकिएपछि निर्णयार्थ पेश गरिएको थियो। विधेयक बहुमतले पारित भएको हो।
प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। खर्च कटौतीको प्रस्ताव राख्दै नेपाली कांग्रेसका सांसद शिवनारायणसिंह गनगाईले अर्थ विविध शिर्षकमा ३ अर्ब रुपैयाँ बजेट स्वेच्छाचारी ढंगले खर्च गर्ने उद्देश्यले राखिएको भन्दै त्यसलाई कटौती गरी १ रुपैयाँ राखियोस् भनी प्रस्ताव गरेका थिए ।
नेकपा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले राजनेता पार्कको लागि २ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसलाई घटाई १ रुपैयाँ कायम गर्न संशोधन प्रस्ताव गरेका थिए । दुवै प्रस्ताव बहुमतले अस्वीकृत भयो ।
खर्च कटौतीको प्रस्तावको विषयमा जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले खर्च कटौतीको प्रस्ताव स्वीकार गर्न नसकिने बताए । विनियोजन विधेयक माथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले समग्र बजेटका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिएपछि बजेट बहुमतले पारित भएको हो ।
बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि आठौं अधिवेशनको बैठक स्थगित गरिएको सभामुख प्रदिपकुमार भण्डारीले बताए ।