काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद संभवतः आजै टुंगो लाग्ने एमाले विवाद समाधान कार्यदलका नेताहरूले दाबी गरेका छन्।
सिंहदरवारमा जारी एमाले विवाद समाधान कार्यदलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेपाल पक्षका रघुजी पन्तले यस्तो दाबी गरेका हुन्।
'कार्यदल बैठक अहिले पनि सिंहदरवारमा जारी छ। एमाले विवादका समाधानका विषयमा बिहीबार साँझ कार्यदल बैठक बस्नुअघि बिहीबारै टुंगोमा पुग्न सकिने अपेक्षा गरिएको छ। संभवतः आजै विवाद टुंगो लाग्छ,' पोखरेलले भने। यस्तै नेपाल पक्षका नेता पन्तले पनि संभवतः आजै विवाद टुंगो लाग्ने अपेक्षा गरेका छन्।
'मस्यौदामा छलफल भएको छ। छलफल सकारात्मक ढंगले भएको छ,' उनले भने, 'पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा धारणा बनाउने प्रयत्न गरेका छौँ। सबै साथीहरूले धारणा राख्नु भएको छ। ती विचार/धारणालाई पूर्ण बनाउने प्रयास भइरहेको छ। त्यसलाई अन्तिम रूप दिने प्रयास जारी छ,' उनले भने।
बिहीबारै विवाद टुंगो लाग्ने बताइएको थियो। तर बिहीबार बैठकबाट बाहिरिने क्रममा नेपाल पक्षका नेता घनश्याम भुसालले पनि पछिल्लो १० दिनयता कुनै ठोस प्रगति नभएको बताएका थिए। यसमा ओली पक्षका सुवास नेम्वाङले पनि प्रगति नभएको उल्लेख गरेका थिए।