सुर्खेत- जुम्लाको सिंजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नबीन बुढाविरुद्ध जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ।
सोही ठाउँका दलित युवा विवेन्द्र नेपालीले उनीहरुविरुद्ध जातीय विभेदको मुद्दा गराएका हुन्। मुद्दा दर्ता नम्बर ८४ मा जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। कुटपिट तथा जातीय गालीगलौज गरेको किटानी जाहेरी आएको जुम्लाका डीएसपी दानबहादुर थापाले बताए।
असार ८ गते अध्यक्षले बुढा र उनका छोरा नबीनले अपशब्द प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। घटना भएको लामो समयसम्म प्रहरीले उजुरी लिन मानेको थिएन।
घटना मिलाउनका लागि बिहीबार मात्रै प्रहरी दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। मुद्दा नलिएको भन्दै चौतर्फी विरोध भएपछि दलित अधिकारकर्मीको सहयोगमा प्रहरी उजुरी लिन बाध्य भएको हो। ‘घटनाको प्रकृति बुझ्न छलफलका लागि बोलाएका थियौं’ डीएसपी थापाले भने, ‘घटना जटिल देखिएपछि कानूनी प्रक्रियामा अगाडि बढेको छ ।’
वडाध्यक्षले यातायात, खानेपानी लगायतका विषयमा सञ्चार माध्यलाई दिएको अन्तर्वार्तामा टिप्पणी गरेको आरोपमा कुटपिट तथा गालीगलौज गरेको पीडितले उजुरीमा भनेका छन्।