काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्रै सभापतिको उम्मेदवार तय गर्न छलफल अघि बढाइएको छ। नेता अर्जुननरसिंह केसीले संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्ने प्रयास थालेका छन्। उनकै संयोजनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीहरुको भेला बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा केही समयअघि सुरु भएको छ।
१४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट ८ जना सभापति पदका आकांक्षी देखिएका छन्। संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले सभापति पदका लागि आकांक्षा देखाएका छन्।
संस्थापन इतर समूह सभापति देउवाको विकल्प खोज्नुपर्नेमा एक छ। तर, देउवाको प्रतिस्पर्धामा को उत्रने भन्नेमा भने नेताहरू विभाजित छन्। यस्तो अवस्थामा केसीले सबै आकांक्षीलाई एक ठाँउमा बोलाएर सहमतिको प्रयास सुरु गरेको उनका स्वकीय सचिव निराजन थापाले जानकारी दिए।
‘दाइ (केसी)ले सबैलाई मिलाउनका लागि तयारी गर्नुभएको हो। साझा उम्मेदवार बनाएर महाधिवेशनमा जाऔं भन्ने उहाँको प्रयास हो,’ थापाले भने। थापाका अनुसार भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला नेताहरु डा.रामशरण महत, बलबहादुर केसी, शेखर कोइराला र सुजता कोइराला उपस्थित छन्।