काठमाडौं- परीक्षा नै नलिई विद्यार्थीलाई उत्तीर्ण गराएर बर्खास्त भएका मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादवलाई पुनर्बहाली गर्न नेपाल ईन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेश कार्यसमितिले माग गरेको छ। विश्वविद्यालयलाई ध्यानाकर्षण गराउँदै कार्यसमितिले यादवको त्रुटि जघन्य नभई सामान्य मात्र भएकाले बर्खास्त नगर्न माग गरेको हो।
‘सानातिना मानवीय त्रुटिलाई जघन्य फौजदारी अपराध सरह गरिएको कारबाही अन्तराष्ट्रिय श्रम ऐन उल्लंघन र मानमर्दन हुने देखिन्छ। तसर्थ बर्खास्त जस्तो जघन्य कारबाहीमा पुर्नविचार गर्न मध्यपश्चिम विश्वविद्यालय प्रशासन समक्ष नेपाल इन्जिनियर्स एशोसिएसन कणाली प्रदेश जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशकसमेत रहेका यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो। यस्तै उनले परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएपछि उनलाई विश्वविद्यालयले बर्खास्त गरेको थियो।
‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अकं दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो,’ विश्वद्यालय कारबाहीबारे जानकारी दिँदै भनेको थियो।
परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो। समितिले यादवलाई स्पष्टीकरण पनि सोधेको थियो। स्पष्टीकरणबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि निर्देशक यादवलाई विश्वविद्यालयले स्थायी उपप्राध्यापक पदबाटै बर्खास्त गरिएको पत्र काटेको उपकुलपति सिंहले बताएका थिए।
सम्बन्धित सामग्री-
परीक्षा नै नलिई विद्यार्थी पास गराउने मध्यपश्चिम विविका निर्देशक विश्वनाथ यादव जागिरबाट बर्खास्त
मध्यपश्चिम विविमा निर्देशक यादवले परीक्षा नै नलिई विद्यार्थी पास गराएको ठहर
मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा 'मनपरी गर्ने' निर्देशक यादव छानबिनको 'लेन्स'मा
मध्यपश्चिम विश्वविद्यालय जहाँ परीक्षा नै नलिई नम्बर दिएर विद्यार्थी पास गराइयो