शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगञ्जका मेयर भन्छन्- नेपाल-भारत सीमामा तस्करी रोक्न असम्भव

वीरगञ्जका मेयर भन्छन्- नेपाल-भारत सीमामा तस्करी रोक्न असम्भव

भारतीय पक्षले अप्रिल महिनामा नै नेपाल-भारत सीमा क्षेत्र खुला गरेपनि नेपालले मात्र एकतर्फी रूपमा सीमानाका बन्द गर्दै सर्वसाधारणलाई सास्ती बाहेक केही नभएको उनको भनाइ छ। 'वीरगंज महानगरपालिकाको मेयर भएको नाताले यहाँका प्रशासनलाई कोभिड परीक्षण गरी कम्तीमा नेपाल प्रवेश गर्न दिन सुझाव दिएको थिएँ। तर कार्यान्वय भएन,' उनको आरोप छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

पर्सा- वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले नेपाल-भारत सीमामा हुने तस्करी रोक्न नसकिने बताएका छन्। मानव अधिकार पत्रकार संघले बिहीबार वीरगञ्जमा आयोजना गरेको क्रस बोर्डर मुद्दासम्बन्धी छलफलमा मेयर सरावगीले चाहेर पनि सीमा क्षेत्रमा तस्करी रोक्न नसकिने बताएका हुन्।

'नेपाल-भारतबीचमा व्यापार/व्यवसायदेखि रोटीबेटीसम्मको सम्बन्ध छ। यो सम्बन्ध मात्र होइन, खुल्ला बोर्डर पनि छ। बोर्डर खुला हुँदा नेपाल-भारत सीमा क्षेत्रमा तस्करी हुने गरेको छ,' मेयर सरावगीले भने, 'सीमामा तस्करी रोक्नु भनेको भारतबाट कोरोना आउन नदिनु भनिएको जस्तै हो। भारतबाट नेपालमा कोरोना भित्रन नदिने भनिएको थियो। तर नियन्त्रण सम्भव भएन। तस्करी पनि यस्तै हो। भन्नलाई भनिएला, तर नियन्त्रण गर्न असम्भव जस्तै छ।'

भारतीय पक्षले अप्रिल महिनामा नै नेपाल-भारत सीमा क्षेत्र खुला गरेपनि नेपालले मात्र एकतर्फी रूपमा सीमानाका बन्द गर्दै सर्वसाधारणलाई सास्ती बाहेक केही नभएको उनको भनाइ छ। 'वीरगंज महानगरपालिकाको मेयर भएको नाताले यहाँका प्रशासनलाई कोभिड परीक्षण गरी कम्तीमा नेपाल प्रवेश गर्न दिन सुझाव दिएको थिएँ। तर कार्यान्वय भएन,' उनको आरोप छ।

सदियौँदेखि नेपाल-भारतको सम्बन्ध भएको तर कोरोना महामारीलाई देखाएर दुवै देशका प्रशासनले नागरिकको सम्बन्धमा दरार सिर्जना गरिदिएको कार्यक्रममा सहभागीहरूले बताएका थिए। 'दुवै देशको सम्बन्ध सुधारका लागि उच्च तहबाटै कार्यान्वयन नभएकाले समस्या जस्ताको त्यस्तै छ,' प्राध्यापक वीरेन्द्र साहले भने, 'दुवै देशका प्रशासनले नागरिकलाई सहज वातावरण बनाइदिनुपर्ने हो। तर यहाँ त सास्ती थपिएको जस्तो मात्र देखिन्छ।'

प्राध्यापक साहले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको देहवसानसँगै दुवै देशबीचको सम्बन्ध चिसिएको उल्लेख गरेका थिए। 'नेपालका नेताहरू आफ्नो स्वार्थ पूर्ति गराउन  भारतीय दूतावास धाउन थालेपछि र भारतका नेताहरूले नेपाललाई 'सानो भाइ' ठान्ने प्रवृत्तिले नेपाल-भारत सम्बन्धमा चिसिँदै गएको उनको भनाइ छ।

मानव तस्करी र लागुऔषध दुवै देशको साझा समस्या भएकाले संयुक्त रुपमा कदम चलाए नियन्त्रण हुने सिआईजेकी पूर्व अध्यक्ष नम्रता श्रेष्ठको भनाइ थियो।

भारतीय पत्रकार शंकर गणेशले नागरिकता र आवतजावतको समस्याका कारण भारतीय र नेपाली नागरिकबीचको वैवाहिक सम्बन्धका घटनामा कमी आएको बताए। नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष अनुप तिवारीले विवाहपछि नेपाली चेली भारतमा गए ७ वर्षसम्म अनागरिक भएर बस्नुपर्ने तर भारतबाट विवाह गरी नेपाल आएकी भारतीय चेलीले तत्कालै नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था समान नभएको बताएका थिए। उनले सीमामा राखिएका सुरक्षा बलले दुवै देशका नागरिकलाई सास्ती दिने गरेको उल्लेख गरेका थिए। 

प्रकाशित: Jul 09, 2021| 09:13 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।