काठमाडौं– गएको वर्ष कोभिड–१९ को महामारीका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग आउँदो सेप्टेम्बर २५ बाट काठमाडौं सुरु हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिइसकेको प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्मको मिति प्रदान गरेको हो।
गएको वर्ष (२०२०)मा आयोजना गर्ने भनिए पनि कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो। कोभिड–१९ को प्रभावका कारण नेपालमा स्थगित हुने पहिलो प्रतियोगिता नै ईपीएल थियो।
प्रतियोगिता स्थगित गर्दा आयोजक ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले झन् बलियो भएर प्रतियोगितामा फर्किने बताएका थिए। यससँगै केही समयअघि आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सेप्टेम्बरमा गर्ने बताएको थियो।