शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही कांग्रेस केन्द्रको समीकरण पर्खिंदै, पुराना नेता पौडेल पक्षमा

रुपन्देही कांग्रेस केन्द्रको समीकरण पर्खिंदै, पुराना नेता पौडेल पक्षमा

कांग्रेसको १४ औं महाविधेशनको मिति नजिकिँदै गर्दा जिल्ला तहमा नेतृत्वका लागि आकांक्षीहरु पनि खुल्न थालेका छन्।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

बुटवल- राजनीतिक रुपमा महत्व बोकेको रुपन्देहीमा नेपाली कांग्रेसको महाधिवेशनले माहोल विस्तारै तात्न थालेको छ। कांग्रेसको १४ औं महाविधेशनको मिति नजिकिँदै गर्दा जिल्ला तहमा नेतृत्वका लागि आकांक्षीहरु पनि खुल्न थालेका छन्। यद्यपि, केन्द्रमै नेतृत्वका लागि उम्मेदवारको टुंगो नलागेकाले जिल्लामा पनि टुंगो भने लागेको छैन।

आन्तरिक रुपमा भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा विभाजित भएर गतिवधि सुरु हुन थालिसकेको छ जिल्लामा। भदौ १६ गतेबाट १९ गतेसम्म कांग्रेसको महाधिवेशन काठमाडौंमा हुने तय भएको छ। त्यसअघि साउन १२ गतेबाट तल्ला तहको अधिवेशन सुरु हुने भएकाले जिल्लामा पनि अधिवेशनको रौनक विस्तारै बढ्न थालेको हो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको गृह जिल्ला समेत भएकाले देउवा पक्षधरकै पकड देखिन्छ। तर, पुराना नेताहरु पौडेल पक्षमा देखिएकाले रुपन्देहीमा यस पटक अधिवेशन निकै रोचक हुने नेताहरु बताउँछन्। अधिवेशनका लागि जिल्लामा सबै तयारी पूरा भएको कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँणले बताए।

उनका अनुसार रुपन्देहीमा कुनै पनि विवाद नभएकाले साउन १२ गतेबाट हुने सम्पूर्ण प्रक्रिया सुरु गर्न सकिने छ। रुपन्देहीमा पार्टीको क्रियाशील सदस्यताको लगभग टुंगो लागेको सचिव खाँणले बताए। ‘हाम्रोमा क्रियाशील सदस्यताको कुनै विवाद छैन, करिब २१ हजार सदस्य हुनेछन्, त्यसको टुंगो तोकिएकै मितिमा हुन्छ,’ उनले भने। 

दुवै पक्षमा आकांक्षी धेरै 

देउवा पक्षधर मानिने पूर्व राज्यमन्त्री समेत भइसकेका अब्दुल रज्जाक सभापति छन् रुपन्देहीमा। उनले दुई कार्यकाल सभापति भएर काम गरिसकेकाले विधान अनुसार रुपन्देही कांग्रेसले नयाँ जिल्ला सभापति पाउने निश्चित छ। केन्द्रमै सभापतिका आकांक्षीहरु धेरै देखिएका छन्। त्यहाँ सहमति हुनासाथ जिल्लामा त्यसैको सिलसिलाबद्ध उम्मेदवार तय हुने नेताहरुको भनाइ छ। 

रुपन्देही कांग्रेसको नेतृत्वका लागि देउवा पक्षबाट हालका जिल्ला उपसभापति फणिन्द्र शर्मा, जिल्ला सचिव रामकृष्ण खाँण, नेता युवराज गिरी आकांक्षी छन्। दुई कार्यकाल जिल्ला उपसभापति भएका शर्मा तरुण दलका पूर्व जिल्ला अध्यक्ष पनि हुन्। यसैगरी रामकृष्ण खाँण दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन्।

कांग्रेस नेता बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णलाई सशक्त दाबेदारका रुपमा हेरिएको छ। खाँणले अब पार्टी सभापति नै आफ्नो एक मात्र गन्तव्य भएको कार्यकर्तालाई बताउने गरेका छन्। खाँण स्थानीय तहको चुनावमा तिलोत्तमा नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बनेका थिए। 

राजनीतिमा लामो सयमदेखि क्रियाशिल युवराज गिरी यसपटक सबैको भावना समेट्ने उम्मदेवारका रुपमा सभापतिको रुपमा आकांक्षी बनेका छन्। नेपाली कांग्रेसको राजनीतिमा सुरजपुर काण्ड निकै चर्चित छ। त्यही समयमा कांग्रेसको नेतृत्वमा रहेका पूर्व जिल्ला सभापति पुष्पानन्द गिरीका छोरा हुन् युवराज। गत चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट वर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग चुनाव लडेका थिए गिरी। 

रुपन्देहीमा देउवा पक्षधरको काउन्टरमा पौडेल पक्षका पनि उम्मेदवारका आकांक्षी धेरै देखिएका छन्। पौडेल पक्षका तर्फबाट रामचन्द्र ढकाल, थानेश्वर घिमिरे, अष्टभुजा पाठक, मात्रिका यादवको नाम जिल्ला सभापतिका लागि चर्चामा छ। ढकाल नेपाली कांग्रेसका पुरानामध्येका नेता हुन्। उनी कांग्रेसका पूर्व जिल्ला सभापति हुन्। ११ औं महाधिवेशनको बेला उनी सभापति थिए। अघिल्लो अधिवेशनमै सभापतिको आकांक्षी ढकाल महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उम्मेदवार बन्न पाएका थिएनन्। 

गत अधिवेशनमा सभापतिमा अब्दुल रज्जाकसँग भिडेका अष्टभुजा पाठक अहिले जसरी पनि सभापति भएरै छाड्ने बताउने गरेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य रहेका पाठकले यो पटक पार्टी सभापतिका रुपमा कार्यकर्ताले चुन्ने विश्वास गरेका छन्। तरुण दल रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष घिमिरे गत जिल्ला अधिवेशनमा रामकृष्ण खाणसँग सचिवमा पराजित भएका थिए। रुपन्देही ३ को क्षेत्रीय सभापति रहेका मात्रिका यादव गत चुनावमा सिद्धार्थनगर नगरपालिकाका मेयरका उम्मेदवार पनि हुन्।  

यीबाहेक नखुलेका आकांक्षी अरु पनि धेरै छन्। क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, विद्यार्थी नेता मुक्ति पौडेलले समेत पार्टी सभापतिमा आकांक्षा व्यक्त गरेका छन्।  कांग्रेसमा उम्मेदवार हुन महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुपर्छ। त्यसैले धेरैले महाधिवेशन प्रतिनिधि भएपछि मात्रै चुनावी अभियान सुरु गर्ने तयारीमा जुटेका छन्।

‘कांग्रेसमा महाधिवेशन प्रतिनिधि नभई उम्मेदवार हुन पाइँदैन, त्यसैले अहिले नै उम्मेदवार को को भन्ने टुंगो लागेको छैन,’ कांग्रेसका नेता तथा सभापतिका आकांक्षी युवराज गिरीले भने। उनले केन्द्रीय तहका नेताहरुसँग छलफल गरेर नेतृत्वको टुंगो लाग्ने बताए। आफूले सभापतिको आकांक्षा व्यक्त गरे पनि पार्टीलाई बचाउने र जीवन्त राख्ने नेतृत्वको खोजी अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। 
 

प्रकाशित: Jul 09, 2021| 07:20 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।