काठमाडौं- काभ्रेको बनेपा बजार डुबानमा परेको छ। पुण्यमाता नदीको भल पुलबजारमा छिर्दा बस्ति डुबानमा परेकोको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
अविरल वर्षासँगै पुण्यमाता खोलाको बाढी सडकमा आएपछि बजार क्षेत्र डुवानमा परेको हो। शुक्रबार बिहान साना गाडी डुबाउने गरि सडकमा भल बगेको छ।
भलले आधा घण्टा जति सडक अवरुद्ध भएको सडक प्रहरीले जनाएको छ। अहिले भने सडक खुलेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सामान्य पानीमा समेत उक्त क्षेत्र डुबानमा पर्ने गरेको बताए। त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या पटक-पटक दोहोरिने गरेको उनले जानकारी दिए। सडक निर्माण गर्दा भएको त्रुटी नसच्याएसम्म यस्तो समस्या दोहोरी रहने उनी बताउँछन्।
