काठमाडौं- नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्ने भएको छ। आन्तरिक विवाद मिलाउन प्रयासरत कार्यदल बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ।
एमाले नेता सुवास नेम्वाङले नेकपा कार्यदलमा टुंगोमा पुगेका र टुंगोमा पुग्न बाँकी विषयमा बैठकमा थप छलफल हुने बताए। नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्।
बिहीबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो। बिहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने बैठकमा खास प्रगति नभएको प्रतिक्रिया दिएका थिए।
नेता भुसालले पछिल्लो १० दिनदेखि कार्यदलले कुनै पनि ठोस प्रगति गर्न नसकेको जनाएका थिए। एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन्।