जनकपुरधाम- नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर केन्द्रमा नेताहरु दौडधूपमा लागेका छन्। सँगै जिल्लाका अकांक्षीहरुसमेत आन्तरिक तयारीमा जुटेका छन्।
महोत्तरीमा जिल्ला सभापतिका लागि ६ भन्दा बढी नेताहरु अकांक्षी देखिए पनि तयारी भने अझैसम्म सुरु हुन सकेको छैन।
महोत्तरी जिल्ला सभापतिका लागि वर्तमान जिल्ला कार्यसमितिका सचिव शम्भु पाठक, अन्य नेताहरु बजरंग नेपाली, नागेश्वर यादव, सुशील यादव लगायत आकांक्षी छन्।
हुन त ४ पटक जिल्लाको सभापति भएर अनुभव सँगालिसकेका महेन्द्र राय इच्छुक देखिए पनि विधानअनुसार उनीे यस पटक सभापतिको रेसबाट बाहिरिएका छन्।
लगातार २ पटक सभापति भइसकेकाले आफू फेरि विधानको हिसाबले सभापतिमा लड्न नपाउने उनले बताए।
क्रियाशील सदस्यतामा विवाद
क्रियाशील सदस्यता वितरणमा महोत्तरीमा विवाद देखिएकाले जिल्ला अधिवेशनको खासै तयारी सुरु हुन सकेको छैन।
असार ५ गते पार्टीको केन्द्रीय समितिको बैठकले साउन २६ गते जिल्ला अधिवेशन गर्ने भनिए पनि क्रियाशील सदस्यता वितरणको विवादका कारण वडा, पालिका तथा क्षेत्रीय अधिवेशनसमेत अन्योलमा परेको छ।
नेपाली कांग्रेस महोत्तरीका सभापति रायले जिल्लामा १२ हजार सक्रिय सदस्य रहेको र उनीहरुको नवीकरणको कार्य अन्तिम चरणमा रहेको जानकारी दिए। उनका अनुसार नयाँ सदस्यता वितरणको विवाद समेत समाधान गर्ने प्रयास भइरहेको छ।
कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले महोत्तरीको जलेश्वर नगरपालिकाको २ वटा वडा, मनरासिस्वा नगरपालिकाको २ वटा वडा र पिपरा गाउँपालिकामा सक्रिय सदस्यता वितरणमा विवाद रहेको बताए।
उनका अनुसार केन्द्रले सक्रिय सदस्यहरुको नामावलीको टुंगो नलगाएका कारण यो विवाद देखिएको हो। ‘वडाबाट पालिका, पालिकाबाट क्षेत्र हुँदै जिल्लाले नामावली केन्द्रमा पठाउनु पर्ने थियो तर त्यस्तो नभएकाले यी वडाहरुमा यस प्रकारको विवाद देखिएको छ,’ पाठकले भने।
देउवा-निधि गुट अस्पष्ट
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको समयमा महोत्तरीमा कोइराला खेमा मजबुत हुने गथ्र्यो। तर, पछिल्लो केही वर्षमा उपसभापति विमलेन्द्र निधिको बढ्दो कद र उनको सक्रियताका कारण महोत्तरी जिल्लामा देउवा पक्ष मजबुत देखिएको छ। महोत्तरीमा कांग्रेसको वर्तमान परस्थितिलाई हेर्ने हो भने क्षेत्र नम्बर ३ बाहेक सबै बाँकी ३ वटै क्षेत्रमा देउवा पक्ष सशक्त छ।
केन्द्रमा दुईभन्दा बढी गुट देखिए पनि जिल्लामा भने देउवा र पौडेल पक्षबीच नै प्रतिस्पर्धा रहने स्थानीय कांग्रेसका नेताहरु बताउँछन्।
नेपाली कांग्रेसका नेता रामचन्द्र तिवारीले केन्द्रमा जतिसुकै गुट रहे पनि जिल्लामा यसले खासै प्रभाव नपार्ने दाबी गरे। उनले केन्द्रको समीकरण एउटा र जिल्लाको समीकरण अर्कै पनि हुन सक्छ।
उनले भने, ‘१३ औँ अधिवेशन हुँदा केन्द्रमा ३ खेमा थिए तर जिल्लामा २ खेमा मात्रै जबकि १२औँ अधिवेशनमा केन्द्रमा २ खेमा मात्रै थियो तर जिल्लामा ३ खेमा थिए,’ उनले भने ‘यसले पनि पुष्टि हुन्छ केन्द्रको गुटले जिल्लामा खासै महत्त्व राख्ने छैन।’
केन्द्रमा गुटहरुको स्थिति अहिले पनि स्पष्ट हुन नसकेकाले जिल्लामा पनि गुटको विषयमा स्पष्ट केही भन्न नसकिने नेता तिवारीको भनाइ छ।
उनले भने, ‘सभापतिजीले म सभापतिमा लड्छु भन्नु भएको छ, यता उपसभापति विमलेन्द्र निधिजी समेत सभापति लड्ने धेरै पहिलेदेखि बताउँदै आउनु भएको छ। यस्तो स्थितिमा पौडेल पक्ष महोत्तरीमा मजबुत हुन सक्छ।’ तर सभापति देउवाको प्रधानमन्त्री बन्ने सम्भावना रहेकाले सभापति छोडेर अन्य नेतालाई अवसर दिने सम्भावनासमेत जीवित नै रहेको नेता तिवारीको बताउँछन्।
केन्द्रमा एउटै खेमाबाट सभापतिको आकांक्षी एकभन्दा बढी रहेको अवस्थामा यसको असर जिल्लामा समेत देखिएको छ।
महोत्तरी जिल्ला सभापतिका लागि आकांक्षी देखिएकाहरुमध्ये अधिकांश देउवा पक्षकै छन्। शम्भु पाठक सचिव भएर काम गर्नुका साथै अनुभवी रहेकाले सभापतिको अकांक्षी देखिएका छन् भने बजरंग नेपाली पनि कांग्रेसका अनुभवी नेता हुन्।
यसरी हेर्दा नेपाली कांग्रेस महोत्तरीमा आउने दिनमा उम्मेदवारको निक्र्यौल लगाउन हम्मेहम्मे पर्ने स्पष्ट बुझ्न सकिन्छ।