काठमाडौं- नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोप ल्याइपुर्याएको हो।
बिहीबार दिउँसो ३:२५ मा खोप लिनका लागि त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए३३० विमान राति ११:२५ मा ‘भेरोसेल’ खोप लिएर चिनबाट फर्किने कार्यतालिका रहेको थियो।
आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताएका छन्। आजदेखि साउन ८ गतेसम्म तीन उडानमार्फत खोप ल्याउने कार्यतालिका रहेको छ।
दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान शुक्रबार अर्थात् ९ जुलाईमा बेइजिङ जाने कार्यतालिका रहेको छ। त्यसैगरी १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप ल्याइने छ।
अबको खोप ६० वर्षमुनीकालाई प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।